![](https://internal.appharu.com/wp-content/uploads/2024/11/durga-prasai-prakrau3-768x403.png)
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत साइबर अपराधको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको छ ।
साइबर ब्युरोले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गरेको हो ।
सरकारी वकिल कार्यालयले प्रसाईंलाई विद्युतीय कारोबार ऐनको दफा ४७ को उपदफा (१) अनुसार सजाय माग गरेको छ । त्यस्तै, उपदफा (२) अनुसार बारम्बार अपराध गरेको ठहर भएपछि थप सजायको माग गरिएको छ।
प्रसाईंविरूद्ध एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ। यसैगरी, बारम्बार अपराध दोहोर्याएको आरोपमा डेढी सजायसमेत माग गरिएको छ ।
दफा ४७ को उपदफा २ अनुसार, अपराध दोहोर्याउने व्यक्तिलाई अघिल्लो सजायको डेढी सजाय हुने प्रावधान छ ।त्यसअनुसार, पाँच वर्ष कैद हुने अवस्थामा डेढी सजाय थप गरी सात वर्षसम्म कैद सजाय हुन सक्छ ।
मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक लाभसम्बन्धी कसुरमा समेत अनुसन्धान गरिरहेको छ ।
प्रसाईंमाथि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरी सामाजिक सञ्जालमा अपलोड गरेको आरोप छ । यसैगरी, भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपाली व्यवसायीलाई धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
SHARE YOUR THOUGHTS