![](https://internal.appharu.com/wp-content/uploads/2025/01/rabi-Lamichane_Nepal-photo-library-copy.png)
काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको छ। न्यायाधीश नीतिज राईको इजलासले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । यो आदेशपछि धरौटी रकम बुझाएमा उनी तत्कालै थुनामुक्त हुनेछन् ।
यद्यपि, धरौटीमा थुनामुक्त भए पनि उनलाई पुनः पक्राउ गर्न सक्ने सम्भावना छ । लामिछानेविरुद्ध पोखरामा मात्र नभई काठमाडौं, चितवन, पर्सा, र रूपन्देहीमा पनि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरी दर्ता भएका छन् भने काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ ।
रविले गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारीबाट अवैध रूपमा रकम आएको रकम खर्च गरेका थिए ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछानेसहित अन्य ३९ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भइसकेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेलाई बयानका लागि काठमाडौं झिकाउन अनुमति मागेको छ ।
कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले लामिछाने तथा जोशीलगायत प्रतिवादीहरूलाई धरौटी लिइ तारेखमा छाड्ने आदेश भएको जानकारी दिए ।
उक्त आदेशपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘यो थुनछेक आदेश मात्र हो। मुद्दा टुङ्गिएको होइन। अदालतले अब मुद्दा अघि बढाउँदा प्रमाण बुझ्ने तथा साक्षीहरूको बकपत्र गर्नेछ।’
‘यो थुनछेक आदेशमा चित्त नबुझे प्रतिवादी उच्च अदालतमा पुनरावेदन जान सक्ने अवस्था पनि रहन्छ,’ उनले भने । उनका अनुसार अदालतले लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रहँदा ‘सहकारीको रकम निजको खातामा आउने र अन्यमा जाने र अन्यसँगको सम्बन्धका आधारमा’ उनलाई “कसुरदार रहेनछन् भन्ने मुनासिब कारण नदेखिएको’ उल्लेख गरेको छ। त्यसैका आधारमा ‘धरौटी लिएर तारेखमा राख्न र धरौटी बुझाउन नसकेमा थुनामा राख्न आदेश भएको’ हो ।
अब थुना बाहिर बसेर उनले मुद्दा लड्नु पर्ने छ । तर, उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ भने अन्य जिल्लामा पनि अनुसन्धान भइरहेको छ ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको हो ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।
बिहीबार न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । करिब तीन महिनासम्मको अनुसन्धान र थुनछेक बहसपछि यो निर्णय आएको हो ।
रवि लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप लागेको छ । यसै आरोपमा उनलाई गत कात्तिक २ गते काठमाडौंस्थित केन्द्रीय कार्यालयबाटै पक्राउ गरिएको थियो ।
अभियोग लागेको व्यक्ति बाहिर भए पनि पक्राउ पुर्जी जारी हुन्छ। थुनामै रहेको व्यक्ति कारागारमार्फत् पठाइन्छ। धरौटी वा जमानतमा रिहा भएको व्यक्तिलाई बाटोको म्याद मात्रै लिएर माग भएको स्थानमा पठाउनुपर्ने हुन्छ ।
लामिछानेलाई विपक्षी बनाएर काठमाण्डूमा मुद्दा दर्ता भइसके पनि चितवन, पर्सा र रूपन्देहीमा पनि उनीविरुद्ध दर्ता भएको उजुरीमा अनुसन्धान भइरहेको छ। त्यसकारण लामिछाने एउटा अदालतबाट रिहा भए पनि अर्को जिल्लाको अदालतको आदेशमा पक्राउ पर्ने सम्भावना छ ।
SHARE YOUR THOUGHTS