काठमाडौं । वैदेशिक लगानी भित्र्याउने भनिएपनि भारतीय सरकारी स्वामित्वको कम्पनी सतलज विद्युत् निगमले नेपाली बैंकबाटै १४ अर्ब रुपैयाँ उठाउने भएको छ ।
भारतीय कम्पनी सतजलले आयोजना निर्माणका लागि एसजेभिएन अरुण तेस्रो जलविद्युत् कम्पनी नेपालमा दर्ता गरेको छ । बिहीबार आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको छ ।
वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा नेपाली तथा भारतीय बैंकका अधिकारीले उपस्थित हुने कार्यक्रम छ ।
आयोजनाले दिएको जानकारी अनुसार नेपाली बैंकबाट करिब ९ अर्ब भारतीय रुपैयाँ अर्थात् १४ अर्ब नेपाली रुपैयाँ नेपाली बैंकबाट उठाइने भएको छ ।
कुल ९०० मेगावाट क्षमताको सो आयोजनामको भौतिक निर्माण करिब ३० प्रतिशतको हाराहारीमा पुगेको छ । आयोजनाका पदाधिकारीका अनुसार आयोजनामा एभरेष्ट बैंकले ८ अर्ब १२ करोड ६१ लाख र नबिल बैंकले ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
सो आयोजनामा नेपाली बैंकले लगानी गर्ने सहमतिपत्रमा गत २०७५ चैत १६ मा सम्झौता गरेका थिए । विदेशी लगानी भित्र्याउने भनिएपनि आयोजनाले नेपाली बैंकबाटै पैसा उठाउन लागेको हो । यसअघि चिनियाँ लगानी रहको होङसी शिवम् सिमेन्टले पनि नेपाली बैंकबाटै १६ अर्ब लगानी जुटाएको थियो ।
एजजेभिएनले संखुवासभाको मकालु गाउँपालिकामा आयोजना निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ३० प्रतिशतको हाराहारीमा पुगेको भएपनि वित्तीय व्यवस्थापन नगरेको भन्दै आलोचना भइरहेको थियो ।
वित्तीय व्यवस्थापन गरेपछि आयोजनाको सम्झौता अवधि गणना हुने भएकाले भारतीय कम्पनीले मिति पर सारेको गुनासो पनि उठेको थियो । गत २०७५ चैतमा भएको लगानी सम्मेलन तथा केही महिना अगाडि सम्पन्न भएको पावर समिटका क्रममा समेत भारतीय कम्पनीले छिट्टै वित्तीय व्यवस्थापन गर्ने जनाएको थियो ।
आयोजनाका अनुसार बिहीबार नेपालका २ र भारतका विभिन्न ७ वटा बैंकले १ खर्ब बराबरको लगानी स्म्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ ।
आयोजनाको लगानी सम्बन्धी रकम टुंगो लागेपनि कामले थप गति लिने विश्वास गरिएको छ । लगानी बोर्डले संयोजन गरिरहेको सो आयोजनालाई सन् २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सतजलभन्दा पहिले परियोजना विकास सम्झौता गरेको माथिल्लो कर्णालीको कुनै काम नभइरहेको बेला सतजलको भने निर्माण प्रगति एवम् वित्तीय व्यवस्थापन समेत हुन लागेको हो ।
सरकारले आयोजनालाई २०७४ कात्तिक २७ गते ६ महिनाको समयसीमा दिएर वित्तीय व्यवस्थापन गर्न भनेको थियो । सरकारले दिएको समय सीमा गुजारेरै भएपनि आयोजनाले वित्तीय व्यवस्थापन गर्न लागेको हो ।
बोर्डले दिएको समयसीमा २०७५ वैशाखमा नै सकिएको थियो । आयोजनाको काम धमाधम अगाडि बढेकाले बोर्डले पनि खासै चासो राखेको थिएन, बरु आयोजना धमाधम अगाडि बढाउन भन्दै आएको थियो ।
हालसम्म खर्च भएको रकम सतजल विद्युत् निगमको स्वपूँजीबाटै खर्च भइरहेको छ । त्यसमा भारत सरकारले नै बजेट उपलब्ध गराएको थियो ।
आयोजनाका पदाधिकारीका अनुसार अरुण तेस्रोमा स्टेट बैंक अफ इन्डिया (एसबीआई) को नेतृत्वमा भारतीय एक्जिम, पञ्जाब नेशनल र युनियन बैंक अफ इन्डियाले ऋण लगानी गर्ने भएका हुन् ।
शुरुमा आयोजनाको लागत १ खर्ब ४ अर्ब हुने भनिए पनि लागत बढेर १ खर्ब १६ अर्ब पुगेको छ । शुरुको लागतभन्दा करिब १२ अर्ब थप लागत बढेको छ ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल मंसिर ९ गते परियोजना विकास सम्झौता (पीडीए) गराएका थिए । हाल आयोजनाको बाध तथा सुरुङ मार्ग निर्माण भइरहेको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले २०७५ वैशाखमा स्वीच थिचेर आयोजनाको सिलान्याश गरेका थिए । आयोजनाबाट उत्पादन हुने ९०० मेगावाटमध्ये नेपालले १९७ मेगावाट विद्युत् निशुल्क पाउनेछ ।
हाल आयोजनाको प्रसारण लाइन निर्माणको समेत काम शुरु भएको छ । आयोजना स्थल संखुवासभाबाट, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै ४०० केभी क्षमताको प्रसारण लाइन प्राधिकरणको ढल्केबरस्थित ४ सय केभी क्षमताको सवस्टेशनमा जोडिन्छ ।
आयोजना आगामी २५ वर्षपछि नेपाल सरकारले पाउनेछ ।
SHARE YOUR THOUGHTS