काठमाडौं । विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसले अन्य क्षेत्रमा जस्तै नेपालको बैंकिङ प्रणालीलाई पनि प्रत्यक्ष असर पुर्याएको छ । कोरोना रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनकै बीच अहिलेसम्म ८ वटा वाणिज्य बैंकले चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
चैतको २० दिनमै बैंकहरुको नाफामा ठूलो असर परेको प्रकाशित वित्तीय विवरणले देखाउँछ । २० दिनको असरले नै बैंकहरुको वितरणयोग्य नाफामा गंभीर धक्का पुगेको छ । यसले आगामी दिनमा बैंकहरुको अवस्था अझ खराब हुने विश्लेषण गर्न सकिन्छ । अधिकांश बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक देखिने निश्चित छ । जसकारण यो आर्थिक वर्षको नाफाबाट आगामी आर्थिक वर्षमा लगानीकर्ताले लाभांश नपाउने भएका छन् ।
सरकार र राष्ट्र बैंकले कोरोना प्रभावितलाई बैंकमार्फत् सहुलियत दिएको तर बैंकको समस्या नहेरेको बैंकरहरु बताउँछन् ।
बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकका सीइओ भुवन दाहाल कोरोनाका कारण बैंकिङ क्षेत्र पनि समस्यामा परेको बताउँछन् ।
‘कोरोनाले अन्य क्षेत्रमात्रै प्रभावित भएजसरी हेरिएको छ, बैंकिङ क्षेत्र पनि प्रभावित भएको छ तर यसलाई गंभीरतापूर्वक नलिएको हो कि जस्तो अनुभूति भएको छ,’ दाहालले भने, ‘यसतर्फ पनि सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।’
राष्ट्र बैंकले बैंकहलाई कर्जाको व्याजदर २ प्रतिशतले घटाउन, ब्याजमा केही छुट दिन र सावाँब्याजको किस्ता तिर्ने समय सार्ने व्यवस्था मिलाइसकेको छ ।
‘राष्ट्र बैंकले फ्ल्याटमा राहतको प्याकेज ल्याएका कारण सक्नेहरुले पनि सावाँव्याज तिरेका छैनन्, जसको नराम्रो असर बैंकहरुमा परेको छ,’ दाहालले भने, ‘प्रभावित क्षेत्रले मात्रै राहत पाउन भन्ने हाम्रो भनाइ हो ।’
कुन बैंकको वित्तीय विवरण कस्तो ?
सिटिजन्स बैंकः बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा २.०२ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले नाफा १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ कमाएको छ । गत आवको सोही अवधिमा त्रैंकको नाफा १ अर्ब ६ करोड ९६ लाख १ हजार रुपैयाँ रहेको थियो ।
बैंकको वितरण योग्य नाफा ४१ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
बैंकको नाफा बढनलाई खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवको तेस्रो त्रैमासमा २ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा २ अर्ब २४ करोड ४८ लाख १३ हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन नाफा पनि गत वर्षको भन्दा बढेको छ । गत वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४९करोड १४ लाख ५ हजार रुपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
८ अर्ब ६२ करोड २१ लाख ९६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४९ करोड ३३ लाख ६७ हजार रुपयैयाँ रहेको छ । बैंकको खराब कर्जा १.५८ प्रतिशतबाट घटेर ०.९७ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७७ पैसा रहेको छ ।
प्राइम बैंकः यो बैंकको नाफा ३१.१८ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब ५४ करोड ७९ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ३ करोड ६ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकको वितरणयोग्य नाफा ६४ करोड १२ लाख १३ हजार रुपैयाँ रहेको छ ।
बैंकको नाफासँगै खुद ब्याज आम्दानीमा सुधार आएको छ भने सञ्चालन नाफामा गिरावट देखिएको छ । गत आवको तेस्रो त्रैमासमा २ अर्ब ६० करोड १५ लाख ३० हजार खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ३४ करोड ८ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यस्तै गत आवको तेस्रो त्रैमासमा २ अर्ब १९ करोड ९२ लाख ८५ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ४ करोड २५ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ ।
१३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब ४५ करोड ८ लाख ५ हजार रुपैयाँ रहेको छ । १ खर्ब १४ अर्ब ७३ करोड ३१ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ११ अर्ब ४६ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको खराब कर्जा पनि १.५८ प्रतिशतबाट घटेर ०.९७ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ ६२ पैसा रहेको छ ।
बैंक अफ काठमाण्डूः यो बैंकको नाफा घटेको छ भने वितरणयोग्य नाफा ऋणात्मक छ । राष्ट्र बैंकले चैत मसान्तमा सावाँब्याज नउठे पनि प्रोभिजनिङ गर्नुनपर्ने व्यवस्था गरेपनि बीओकेले प्रोभिजनिङ गरेका कारण यस्तो असर देखिएको हो ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तमा बैंकको नाफा २७.४९ प्रतिशतले घटेर ८७ करोड ३४ लाख ९३ हजार रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब २० करोड ४६ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, चालु आवको तेस्रो त्रैमासमा बैंकको वितरण योग्य नाफा ९ करोड ८ लाख ८३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको नाफामा गिरावट आएपनि बैंकको खुद ब्याज आम्दानी बढेको छ । गत आवको तेस्रो त्रैमासमा २ अर्ब ७३ करोड ५२ लाख ८४ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा २ अर्ब ८७ करोड ८७ लाख ८० हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको सञ्चालन नाफामा भने गिरावट आएको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब ७१ करोड ६ लाख १३ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब २३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा सिमित बनेको छ ।
८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २० करोड ७३ लाख ६४ हजार रुपैयाँ रहेको छ ।
८९ अर्ब ७७ करोड ९ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७८ अर्ब ७२ करोड ४९ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.१२ प्रतिशतबाट घटेर १.५३ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा रहेको छ ।
सेञ्चुरी बैंकः लकडाउनका बाबजुत पनि यो बैंकको नाफा ४९.९६ प्रतिशतले बढेर ९१ करोड ५७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा बैंकको नाफा ६१ करोड ६ लाख ७१ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १३ करोड ४१ लाख १५ हजार रुपैयाँ मात्रै रहेको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड १७ लाख २१ हजार रुपैयाँबाट बढेर २ अर्ब २५ करोड १५ लाख ८५ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा पनि ८७ करोड ३३ लाख ७१ हजार रुपैयाँबाट बढेर १ अर्ब २६ करोड ९२ लाख २८ हजार रुपैयाँ रहेको छ ।
८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७९ करोड ९१ लाख १९ हजार रुपैयाँ रहेको छ ।
५८ अर्ब ७७ करोड ४५ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब १० करोड ९५ लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा १.५३ प्रतिशतबाट बढेर २.१९ प्रतिशत पुगेको छ । १४ रुपैयाँ ५१ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७२ पैसा रहेको छ ।
हिमालयन बैंकः चैत मसान्तसम्ममा यो बैंकको नाफा १५।०४ प्रतिशतले बढेर २ अर्ब ३१ करोड १७ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब १ करोड ४० लाख ७६ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ८२ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड २४ लाख ६४ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा २ अर्ब ८६ करोड ५४ लाख ७५ हजारबाट बढेर ३ अर्ब ८ करोड ६४ लाख २६ हजार रुपैयाँ रहेको छ ।
९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड ९० लाख ५६ हजार रुपैयाँ रहेको छ ।
१ खर्ब १६ अर्ब ३२ करोड ४४ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ८ अर्ब ८२ करोड १० लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा १्.३१ प्रतिशतबाट घटेर १।११ प्रतिशत झरेको छ । ३२ रुपैयाँ ९६ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ५० पैसा रहेको छ ।
नेपाल बैंकः यो बैंकको वितरणयोग्य नाफा ६ करोड रुपैयाँ बढी ऋणात्मक भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार सो अवधिको बैंकको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख ८२ हजार रुपैयाँ ऋणात्मक रहेको हो ।
तेस्रो त्रैमासको समीक्षा अवधिमा बैंकको खुद नाफा ११ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा नाफा २४ करोड ८९ लाख रुपैयाँले घटेर १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले सो अवधिमा १ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकको ब्याज आम्दानी पनि १० प्रतिशतले घटेको छ ।
बैंकले गत आवको चैत मसान्तमा ४ अर्ब ७२ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ५० करोड ७० लाख रुपैयाँले ब्याज आम्दानी घटेर ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ ।
साथै सो अवधिमा बैंकका बैंकको सञ्चालन मुनाफा ४७ करोड २८ लाख रुपैयाँ घटेर २ अर्ब ६५ करोड ५ लाखमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात २।६४ प्रतिशत, कष्ट अफ फण्ड १५.९० प्रतिशत, बेसरेट ७.४९ प्रतिशत र स्प्रेडरेट ४.४९ प्रतिशत छ । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १३ पैसा, प्रतिसेयर नेटवर्थ २९६ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात ९.२५ गुणा छ ।
नेपाल एसबिआई बैंकः नेपाल एसबिआई बैंकको नाफा १०.१४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा नाफा १ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकको नाफा १६ करोड २४ लाख रुपैयाँले घटेको हो ।
बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानीमा घटेसँगै नाफा घटेको देखिन्छ ।
समीक्षा अवधिमामा बैंकले १ खर्ब ७ अर्ब २५ लाख रुपैयाँ निक्षेप संकलन गरी ९५ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
जसबाट बैंकले ३ अर्ब १३ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको चैत मसान्तको तुलनामा ६।४७ प्रतिशत अर्थात २१ करोड ७३ लाख रुपैयाँले कम हो ।
गत आवको चैत मसान्तमा बैंकले ३ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
साथै बैंकले सो अवधिमा २ अर्ब ४ करोड ९१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ७ प्रतिशत अर्थात १५ करोड ४३ लाख रुपैयाँ कम हो । सो अवधिमा बैंकको वितरणयोग्य नाफा १० करोड ४३ लाख रुपैयाँ छ ।
चैत मसान्तसम्ममा बैंकको बेसरेट ९.८६ प्रतिशत, स्प्रेडदर ५.१५ प्रतिशत र खराब कर्जा अनुपात ०.१९ प्रतिशत रहेको छ । साथै बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६३ रुपैयाँ ७२ पैसा, मूल्य आम्दानी अनुपात १९.२४ गुणा र पूँजीकोष अनुपात १४.७४ प्रतिशत छ ।
एभरेष्ट बैंकः यो बैंकको नाफा ६.२९ प्रतिशतले नाफामा वृद्धि गरेको छ । गत आवको चैत मसान्तसम्ममाको नाफामा १३ करोड ९४ लाख रुपैयाँले बढाएर २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आवको चैत मसान्तसम्म २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । समीक्षा अवधिमा बैंकले १ खर्ब ४० अर्ब २ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ५९ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
जसबाट बैंकले ४ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २४ करोड रुपैयाँ बढी हो । गत आवको चैत मसान्तसम्म बैंकले ४ अर्ब १० करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
साथै, सो अवधिमा बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । बैंकको वितरण योग्य नाफा भने ९४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
SHARE YOUR THOUGHTS