काठमाडौं महानगरमा वित्तीय सेवा दिने संस्थाले २० प्रतिशत कर छुट पाउने, अब कति तिर्नुपर्छ ? « Eglish Khabarhub

काठमाडौं महानगरमा वित्तीय सेवा दिने संस्थाले २० प्रतिशत कर छुट पाउने, अब कति तिर्नुपर्छ ?



काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थालगायतका वित्तीय सेवामुलक संघ संस्थाहरुले बुझाउने व्यवसाय करमा २० प्रतिशत छुट पाउने भएका छन् ।

महानगरपालिकाले बुधबार आर्थिक वर्ष २०७७/७८ को बजेटसँगै आर्थिक विधेयक सार्वजनिक गरी वित्तीय सेवा करमा २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड-१९ रोकथामको लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा ब्यापार व्यवसाय गरी बस्ने करदाताहरुलाई समेत प्रत्यक्ष प्रभाव परेको हुँदा आर्थिक वर्ष २०७७÷७८ मा लाग्ने व्यवसाय करमा छुट दिएको जनाइएको छ ।

सार्वजनिक आर्थिक विधेयकअनुसार महानगरपालीकाले घोषणा गरेको वित्तीय सेवा व्यवसाय करमा २० प्रतिशत छुट अनुसार अब वाणिज्य बैंकका केन्द्रीय कार्यालयले वार्षिक १ लाख रुपैयाँ बुझाउँदै आएको व्यवसाय कर अब ८० हजार रुपैयाँ मात्र बुझाउनु पर्नेछ । साथै वाणिज्य बैंकले प्रतिशाखा ५० हजार रुपैयाँ व्यवसाय करलाई ४० हजार रुपैयाँ र बिस्तारित काउण्टरको २० हजार रुपैयाँ कर अब १६ हजार तिर्नु पर्नेछ ।

काठमाडौं महानगरपालीकाले दिएको व्यववसाय करमा २० प्रतिशत छुट अनुसार विकास बैंकहरुले केन्द्रीय कार्यालयको ७५ हजारबाट ६० हजार रुपैयाँ, शाखा कार्यालयको प्रति शाखा ४० हजारबाट ३२ हजार रुपैयाँ, बिस्तारित काउण्टर बापत १५ हजार रुपैयाँबाट १२ हजार रुपैयाँ व्यवसायीक कर तिर्नु पर्नेछ ।

यस्तै फाइनान्स कम्पनीको केन्द्रीय कार्यालयको ५० हजार रुपैयाँबाट ४० हजार रुपैयाँ, फाइनान्स कम्पनीको शाखा कार्यालयमा प्रति शाखा २५ हजार रुपैयाँबाट २० हजार रुपैयाँ बुझाउनु पर्नेछ ।

हालसम्म सहकारी बैंक केन्द्रीय कार्यालय सञ्चालन गरे वापत बुझाउदै आएको २५ हजार रुपैयाँ अब २० हजार रुपैयाँ, सहकारी बैंक शाखा कार्यालय १५ हजार रुपैयाँबाट १२ हजार रुपैयाँमा व्यवसायीक कर निर्धारण भएको छ ।

सहकारी र लघुवित्त संस्था ५ हजार रुपैयाँ व्यवसाय कर महानागरपालिकालाई बुझाउनु पर्नेमा अब ४ हजार रुपैयाँ, महिला सहकारी संस्था २ हजारबाट अब १६ सय रुपैयाँ, सहकारी संस्थाको शाखा÷सम्पर्क कार्यालय प्रति एकाई ३ हजार रुपैयाँबाट अब २४ सय रुपैयाँ तिर्नु पर्नेछ ।

काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेको बीमा कम्पनीले केन्द्रीय कार्यालयको ५० हजार रुपैयाँ व्यवसायीक कर बुझाउँदै आएकामा अब २० प्रतिशत कर छुट पाउँदा ४० हजार रुपैयाँ र बीमा कम्पनी शाखा कार्यालयको प्रति शाखा २० हजार रुपैयाँबाट कर छुट पाउँदा १६ सय रुपैयाँ तिर्नुपर्ने छ ।

साथै, आर्थिक कारोवार गर्ने संस्थाहरुमा शेयर कारोवार वा अन्य आर्थिक कारोवार गर्ने इन्भेस्टमेण्ट कम्पनीबुझाउँदै आएका व्यवसायीक कर १० हजार रुपैयाँमा २० प्रतिशत छुट पाउँदा ८ हजार रुपैयाँ र शेयर रजिष्टर गर्ने कार्यालय २५ हजार रुपैयाँमा २० प्रतिशत कर छुट पाउँदा २० हजार रुपैयाँ बुझाउँदा हुने भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिक भित्र सञ्चालनमा रहेका मनी एक्सचेञ्ज कम्पनी केन्द्रले बुझाउने १५ हजार रुपैयाँ व्यवसायीक करमा २० प्रतिशत छुट पाउँदा १२ हजार रुपैयाँ, मनी एक्सचेंञ्ज काउन्टरको शाखाले ५ हजार रुपैयाँबाट ४ हजार रुपैयाँ, रेमिट कम्पनी प्रति एकाई ४ हजार रुपैयाँ व्यवसायीक कर तिर्ने गरेकोमा अब ३२ सय रुपैयाँ तिर्नुपर्नेछ ।

Publish on: