काठमाडौं । निषेधाज्ञामा बैंकका कर्मचारीलाई प्रहरीले आवतजावतमा अवरोध गरेपछि काठमाडौं उपत्यकामा आव बैंकका शाखा बन्द गर्न बैंकर्स संघले निर्देशन दिएको छ ।
कार्यालय जाने क्रममा बैंकका कर्मचारीलाई प्रहरीले अवरोध गरेपछि बैंक नखोल्ने निर्णय भएको बैंकर्स संघले निर्णय गरेको हो । निषेधाज्ञा भए पनि बैंकिङ सेवा अत्यावश्यक भएकाले उपत्यकामा एउटा बैंकले सीमित कर्मचारीबाट ८ वटा मात्रै शाखा खोल्ने बुधबार सहमति गरेको थियो ।
महानगरीय ट्राफिक महाशाखामा प्रवक्ता बामदेब गौतमले अनावश्यक कर्मचारी आवजजावत बढेको हुँदा बाटोमा रोकिएको जानकारी दिए ।
‘राष्ट्र बैंकले न्यूनतम कर्मचारीबाट केही शाखा खोली सेवा दिने भनेर निर्देशन दिएको छ, तर बैंकका कर्मचारी परिचयपत्र देखाउँदै तिजको सामान खरिद गर्न निस्किएका छन्,’ उनले क्लिकमाण्डूसँग भने ‘राष्ट्र बैंकको निर्देशनअनुसार त थोरै कर्मचारी बाटोमा देखिनुपर्ने हो तर अहिले प्राय बैंकका कर्मचारी बिहानैबाट परिचयपत्र देखाउँदै बाटोमा हिँडेका छन् ।’
कार्यालय जानेभन्दा व्यक्तिगत काममा हिड्ने कर्मचारी बढी भएको कारण प्रहरीले रोकेको उनको भनाइ छ ।
जिल्ला प्रशासनले बैंकिङ र बीमा सेवा अन्तर्गतका कर्मचारीलाई परिचयपत्रका आधारमा आवतजावत गर्न दिने सूचना भदौ ३ मा नै जारी गरेको भएपनि भोलिबाट कर्मचारी परिचयपत्रले हिँड्न नपाउने उनले स्पष्ट पारे ।
जिल्ला प्रसाशन, राष्ट्र बैंक र बैंकर्स संघले छलफल गरी निषेधाज्ञा अवधिमा सेवा दिने कर्मचारीको नाम र समय नै तोकिएको परिपत्रको आधारमा मात्र आवतजावत गर्ने व्यवस्था गरिने उनको भनाइ छ ।
‘आफ्नो स्वास्थ्य जोखिममा राखेर ग्राहकलाई सेवा दिन हिडेका कर्मचारी बाटोमै रोकिएका छन्,’ बैंकर्स संघका सीइओ अनिल शर्माले क्लिकमाण्डूसँग भने, ‘प्रहरीले कर्मचारीलाई यसरी अपराध गरे जस्तो गरेर जस्तो बाटोमा नै उभ्याउँदा उनीहरुको काम गर्ने मनबल समेत घट्छ ।’
सरकार र ट्राफिक प्रहरीले कर्मचारीको लागि आवतजावतमा सहजिकरण नगरे निषेधाज्ञा अवधिभर बैंकका शाखा खोलि सेवा प्रवाह गर्न नसकिने उनले बताए । जसकारण संघले सहजिकरण नहँदासम्म बैंकका शाखा नखोल्ने सहमति गरेको उनले जानकारी दिए ।
ट्राफिक प्रहरीले कर्मचारीलाई बाटोमै रोकेपनि बैंक नै बन्द गछौँ भन्न नमिल्लने राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले बताए ।
‘कर्मचारी बाटोमा नै रोकिए भने सेवा दिन समस्या हुन्छ तर संघले एकलौटीरुपमा बैंक बन्द गर्छु भन्न भने मिल्दैन,’ उनले क्लिकमाण्डूसँग भने, ‘राष्ट्र बैंकको निर्देशनअनुसार बैंक खोल्ने बन्द गर्ने विषय राष्ट्र बैंक र बैंकबीचको सम्वन्यमा हुने विषय हो ।’
कर्मचारीलाई आवतजावतमा समस्या भए सहजिकरणको लागि छलफल गरिने तर बैंक बन्द गर्छु भने घोषणा भने बैंकर्स संघले गर्न नपाउने उनले बताए ।
‘आज रोकिएका सबै कर्मचारी कार्यालय पुगिसकेका छन्, भोलिको लागि कसरी सहजीकरण गर्ने अब छलफल हुन्छ,’ उनले भने ।
बुधबार राति १२ बजेदेखि शुरु भएको निषेधात्रा भदौ १० गते राति १२ बजेसम्म लागू हुनेछ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा कर्मचारीहरुले फोटोसहितको परिचय पत्रका आधारमा आवतजावत गर्न पाउने उल्लेख थियो ।
SHARE YOUR THOUGHTS