काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले आइतबार महिला उद्यमी विषयक अन्तरक्रिया आयोजना सम्पन्न गरेको छ ।
शैक्षिक परामर्श क्षेत्रमा कार्यरत महिला उद्यमिहरु सहभागी वेवनार अन्तरक्रिया कार्यक्रम शुरुवाती दिनदेखि आजसम्म आइपरेको समस्या र महिलाका लागि अवसरका विषयमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रम शुरुवात गर्दै इक्यानका उपाध्यक्ष शेषराज भट्टराईले भने, ‘यो सफलताको कथा नहुन सक्छ तर यो महिला उद्यमिका लागि प्रयासरत हुनेमा विश्वास छ ।’
कार्यक्रममा इक्यान सल्लाहकार यशोधा भट्टराईले शुरुवाती दिनमा परिवारसँगै कार्यालय व्यवस्थापन चुनौतीपूर्ण भएको अनुभव सुनाइन् ।
भट्टराईले अहिलेको अवस्थामा महिलाहरु उद्यमशिलतामा आउनका लागि परिवारको साथ पाए पनि फाइनान्सियल सपोर्ट अझै पनि पाउन नसकेको तर्क गरिन् ।
‘आजका दिनमा अब म पनि काम गर्छु भनि इच्छाशक्ति देखाउने महिलाका लागि भने राम्रो अवसर छ,’ उनले भनिन् ।
एजुकेशन कन्सलटेन्सी क्षेत्रलाई पहिले समाजमा नकारात्मक चित्रण गरे पनि पछिल्लो समयमा व्यवसायीहरुले इथिकल प्राक्टिस गरिरहेका आधारमा समाजमा पनि सकारात्मक प्रभाव परिरहेको उनको भनाइ छ ।
त्यसैगरी इक्यानकी पूर्व कार्यकारी सदस्य रजनी श्रेष्ठ शुरुवाती दिनमा यस क्षेत्रमा सीमित संख्यामा मात्रै महिला उद्यमि रहेको अवस्थामा अहिले भने महिलाको उपस्थिती बढ्दै जानु सकारात्मक भएको बताइन् ।
सन् २०१३ देखि यस क्षेत्रमा आबद्ध रहेकी इक्यानकि पूर्वकार्यकारी सदस्य सुनिता था श्रेष्ठले शुरुवाती समयमा परिवारबाट पनि भरपूर साथ भएकाले पनि आजका दिनसम्म आइपुग्न सकेको बताइन् ।
श्रेष्ठले महिलाहरुले घरबाहिर निस्किएर काम गर्ने सोचमा परिवर्तन आइरहेकाले यो सकारात्मक समेत भएको बताइन ।
यद्यपि समाजमा अझै पनि महिलाहरुले बाहिर निस्केर काम गर्ने सहज अवस्था नभएको बताइन् ।
‘मलाई बाहिर गएर काम गर्न कुनै समस्या छैन, तर हाम्रो छिमेकमै पनि कतिपय यस्ता मानिसहरु हुनुहुन्छ जसले छोरी बुहारीले काम गर्न जान दिनुहुन्न, बैंकमा राम्रो काम गरिरहेकी बुहारीले बिहेपछि काम छाड्नु परेको अवस्था पनि छ,’ उनले सुनाइन् ।
एजुकेशन कन्सलटेन्सीहरु एजेन्ट भएकाले यसलाई सबै ठाउँमा उत्तिकै सम्मान नभएको बताइन् ।
कतिपय अवस्थामा मानिसहरुले यो क्षेत्रलाई सम्मान गरे पनि कतिपय अवस्थामा मानिसहरुले म्यानपावरका रुपमा बुझाइ रहेको धारणा राखिन् ।
उनले महिला भएकै कारणले कतिपय ठाउँमा असुरक्षित महसुस गरेको अनुभव साटिन ।
‘महिलाका रुपमा मिड नाइटमा काम गर्ने काममा अझै पनि हामीलाई सोच्न गाह्रो छ । त्यसैले म कैयन कार्यक्रमहरु अबेर रातिसम्म भयो भने छाडेर हिँडेको अवस्था छ । म मेरो फ्रोफेसनका लागि फाइदाजकन छैन भने म त्यस्ता कार्यक्रममा धेरै समय बस्दैन पनि ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै इक्यान कास्कीकी पूर्व कोषाध्यक्ष समेत रहेकी कन्सलट्यान्ट गीता शर्माले शुरुवाती दिनमा जागिर गर्दा सिकेको ज्ञान, सीप र अनुभवका आधारमा आफूले कम्पनी स्थापना गरेको बताइन ।
शुरुवाती दिनमा जस्तो समस्या भए पनि अहिले भने महिलाका लागि अवसर सिर्जना भइरहेको उनको भनाइ छ ।
यद्यपि समाजले यस क्षेत्रलाई हेर्ने दृष्टिकोणमा भने अझै सकारात्मक परिवर्तन नआएको बताइन् ।
‘कतिपय मिडियाले म्यानपावर हो भने जसरी समाचार लेखिरहेका छन्, त्यसमा पनि उनीहरुले प्रमाण नदिएका होइनन्, हाम्रो क्षेत्रभित्रका व्यवसायीहरुले नराम्रो काम गरेका आधारमा समाजमा अझै पनि सकारात्मक प्रभाव परेको छैन,’ उनले भनिन् ।
शर्माले इक्यानको कार्यसमितिमा महिलाको संख्या बढाउनु पर्ने धारणा राख्दै कम्तीमा एकजना महिला उपाध्यक्ष महिला हुनुपर्ने माग गरिन् । हाल इक्यानको कार्यसमितिमा ३ जना उपाध्यक्ष रहने व्यवस्था रहेकोमा कम्तीमा एकजना महिला हुनुपर्ने व्यवस्था गर्न समेत माग गरिन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै इक्यान बुटवलकि बोर्ड सदस्य करिश्मा पाण्डेले क्षमता र प्यासन छ भने महिलाका रुपमा काम गर्नका लागि गाह्रो नभएको बताइन् ।
‘पहिले केटीले पनि कन्सलटेन्सी चलाउने होर ? भन्ने मान्यता थियो, तर अहिलेको अवस्था त्यस्तो छैन । पहिले जस्तो परिवारले पनि सपोर्ट गरेकै अवस्था छ । पहिले म आफैलाई पनि डर लाग्थ्यो तर अहिलेको अवस्था त्यस्तो छैन,’ उनले भनिन् ।
महिलाका लागि १५ लाख सहुलियत ऋण
कार्यक्रममा बोल्दै इक्यानका उपाध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्श क्षेत्रमा कार्यरत महिला उद्यमिका लागि नबिल बैंकबाट १५ लाख रुपैयाँ सहुलियत ऋण लिनका लागि इक्यानले पहल गरिरहेको जानकारी दिए ।
कोरोनाबाट अतिप्रभावित क्षेत्रमा एजुकेशन कन्सलटेन्सी पनि परेको र यस क्षेत्रमा कार्यरत महिलाले नबिल बैंकबाट १५ लाख रुपैयाँसम्म ऋण पाउने गरी इक्यानले काम गरिरहेको उनले जानकारी दिए ।
SHARE YOUR THOUGHTS