ब्रोकर कमिसन घटाउन लगानीकर्ताको माग, ब्रोकर भन्छन्- एकाध दिनको मात्रै हेरेर हुँदैन « Eglish Khabarhub

ब्रोकर कमिसन घटाउन लगानीकर्ताको माग, ब्रोकर भन्छन्- एकाध दिनको मात्रै हेरेर हुँदैन



काठमाडौं । सेयर बजारको दोस्रो कारोबार पूर्ण अनलाइन हुँदा पनि ब्रोकर कमिशन नघटेको भन्दै लगानीकर्ताले कमिशन घटाउन माग गर्न थालेका छन् ।

लामो समयदेखि ब्रोकर कमिशन घटाउन माग हुँदै आएकोमा अनलाइन कारोबार शुरु भएलगत्तै कमिशन घटाउन पुनः माग गरेका हुन् ।

लकडाउन अघि ब्रोकर कार्यालयबाट काम गर्नुपर्दा वा लगानीकर्ता ब्रोकरको कार्यालयमा पुग्दा उनीहरुको खर्च बढ्ने गरेको थियो ।

पछिल्ला दिनमा चेक लिएर बैंकमा जानु पर्ने, क्लियरिङ शुल्क तिर्नु नपर्ने भएका कारण पनि ब्रोकर कमिशन घटाउनु पर्ने लगानीकर्ताको माग रहेको छ ।

ब्रोकरहरुले पहिलो जस्तो ढड्डा राखेर गर्ने काम प्रविधिले घटाएसँगै उनीहरुको कमिशन घटनुपर्ने लगानीकर्ताको माग गरेको छ ।

केही लगानीकर्ता ब्रोकर कमिशनलाई वान वे समेत गर्न माग गर्न थालेका छन् । लगानीकर्ताले सेयर किन्दा ब्रोकर कमिशन लिन नहुने, बिक्री गर्दा मात्रै ब्रोकर कमिशन लिनु पर्ने माग समेत शुरु भएको छ ।

हाल लगानीकर्ताले ब्रोकर, सेबोन, नेप्से, सिडीएससीलाई कमिशन तिर्नुपर्छ ।

लगानीकर्ताहरुले सेबोनको कसिशन समेत घटाउन माग गरिरहेका छन् । नेप्से प्रविधिमैत्री भएपछि उसको लगात घटने भन्दै कमिशन घटाउन माग गरिएको हो ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले अब लगानीकर्ता अनलाइनमार्फत घरबाटै कारोबार गर्ने हुँदा ब्रोकर कमिशन तत्काल घटाउनु पर्ने बताउँछिन् । खर्च पनि विस्तारै कम हुँदै गएको भन्दै उनले अब ब्रोकर कमिशन घटाउनुको विकल्प नभएको उनको तर्क ।

यता धितोपत्र बोर्डले निर्देेशक डा. नवराज अधिकारीको संयोजकत्वमा ब्रोकर कमिशन घटाउन अध्ययन समिति नै बनाएको थियो । उक्त समितिको प्रतिवेदन अन्तिम तयारीमा रहेको जनाएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले उक्त प्रतिवेदन आएपछि लगानीकर्तालाई बोलाएर थप अध्ययन गर्ने बताउँदै आएका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले पनि ब्रोकर कमिशन घटाउन सुझाव दिएको थियो । त्यो सुझाव अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

यता ब्रोकर एसोशिएसनका अध्यक्ष भरत रानाभाटले लगानीकर्ताले दुई चार दिनको कारोबार रकमलाई हेरेर कमिशन घटाउनु भन्ने कुरा तर्क संगत नहुने बताए ।

‘अहिले दुई दिनको कारोबार भोल्युम हेरेर कमिशन घटाउनु पर्छ भन्ने हो की, दीर्घकालीन रुपमा कसरी जान्छ भनेर हेर्ने हो ?’ उनले भने ‘यो विषयमा हामीले नियामक निकायलाई अध्ययन गर्न भनेका छौं ।’

दुई दिन कारोबार रकम बढदैमा कमिशन महंगो भयो भन्ने, पहिला २० करोड रुपैयाँको कारोबार हुँदा नबोल्ने कुरा न्यायसंगत नहुने उनको तर्क छ । गत बुधबार मात्रै अनलाइन कारोबार हालसम्मकै सबैभन्दा बढी भएको थियो । सो दिन ४ अर्ब १८ करोड बराबरको अनलाइनबाटै कारोबार भएको थियो ।

ब्रोकरको कमिशन घटाउने हो भने १ वर्षको वा ६ महिनाको औसत कारोबार हेरेर, कति ब्रोकरले कति कमाएका छन हेरेर कमिशन निर्धारण गर्न सुझाव दिएको उनको भनाई छ ।

लगानीकर्ताले आफ्नो लगानीको १५ वा २० प्रतिशत आउने हो भने घटाउँदा कुनै समस्या नहुने रानाभाटको भनाइ छ । धेरै कमाउने ब्रोकरको कमाइ हेर्ने, अन्य ब्रोकर नहेर्ने गर्न नमिल्ने उनको तर्क छ ।

ब्रोकर कमशिनको बारेमा वैज्ञानिक रुपमा अध्ययन गरेर यो विवाद सदैको लागि टुंग्याउन उनले आग्रह गरेका छन् ।

Publish on: