![](https://internal.appharu.com/wp-content/uploads/2022/08/Uniliver-768x407.jpg)
काठमाडौं । घट्दो सेयर बजारमा पनि युनिलिभिर नेपाल लिमिटेड कम्पनीका सेयर लगानीकर्ताहरु मालामाल बनेका छन् ।
गत साउन २३ गते कम्पनीले गत आवको वित्तीय विवरण प्रकाशित गरेपछि कम्पनीको सेयर मूल्य लगातार उकालो लागिरहेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीले ७५.१७ प्रतिशतले नाफा बढाउन सफल भएको छ । वित्तीय विवरण प्रकाशित भएको तीन कारोबार दिनमा कम्पनीको मूल्य प्रतिकित्ता २ हजार ६०७ रुपैयाँले बढेर प्रतिकित्ता २० हजार ६०० रुपैयाँ पुगेको छ । जुन आजका दिनमा कुनै पनि कम्पनीको सबैभन्दा सेयर मूल्य हो ।
सोही अवधिमा सेयर बजार मापक सूचक नेप्से भने २१२०.८० अंकबाट ६४ अंकले घटेर २०५९.८९ विन्दुमा सीमित भएको छ ।
तीन दिनमा युनिलिभर कम्पनीको सेयर मूल्य भने १४.४८ प्रतिशतले बढेको छ । जुन पछिल्लो १८० दिनको औसत मूल्यभन्दा ८.१६ प्रतिशतले बढी हो ।
कम्पनीले अघिल्लो आवमा ८६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा गत आवमा नाफा बढाएर १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।
वित्तीय विवरण अनुसार कम्पनी कुल सम्पत्ति ५ अर्ब ७४ करोड १ लाख रुपैयाँ बराबरको छ । कम्पनीसँग अघिल्लो आवमा ४ अर्ब ५३ करोड २ लाख रुपैयाँ बराबरको सम्पत्ति थियो ।
कुल ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले प्रोभिजनका लागि २ करोड ११ लाख रुपैयाँ राखेको छ ।
कम्पनीको सञ्चालन आम्दानी ७ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ छ भने अन्य आम्दानी १२ करोड २९ लाख रुपैयाँ छ । कम्पनीका अनुसार गत आवको चौथो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी २८ प्रतिशतले बढेर २ अर्ब २ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/08/uni.png)
यस्तो छ लाभांशको इतिहास
युनिलिभर सेयर बजारका लगानीकर्ताका लागि ब्लूचिप कम्पनीका रुपमा चिनिन्छ । कम्पनीले प्रत्येक वर्ष आकर्षक लाभांश समेत दिँदै आएको छ ।
पछिल्लो १० वर्षमा कम्पनीले बोनस सेयर भने दिएको छैन । यद्यपि नगद लाभांश भने निकै आकर्षक छ । कम्पनीले हालसम्म न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखि अधिकतम प्रतिकित्ता १२७० रुपैयाँसम्म नगद लाभांश उपलब्ध गराएको छ ।
कम्पनीले आव २०७७/७८ मा प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश दिएको थियो भने आव २०७६/७७ मा इतिहासकै सबैभन्दा कम प्रतिकित्ता १०० रुपैयाँ नगद लाभांश दिएको थियो । त्यसअघि कम्पनीले आव २०६८/६९ मा प्रतिकित्ता ६८० रुपैयाँ नगद लाभांश दिएपछि त्यसभन्दा कम लाभांश दिएको थिएन ।
कम्पनीले हालसम्म सबैभन्दा बढी आव २०७३/७४ मा प्रतिकित्ता १२७० रुपैयाँ नगद लाभांश दिएको थियो भने आव २०७२/७३ मा १०२० रुपैयाँ नगद लाभांश दिएको थियो ।
कुन आवमा कति नगद लाभांश ?
प्रतिक्रिया