तीन पार्टीका चुनावी घोषणापत्र: यस्ता छन् आर्थिक एजेण्डा « Eglish Khabarhub

तीन पार्टीका चुनावी घोषणापत्र: यस्ता छन् आर्थिक एजेण्डा


१४ कार्तिक २०७९, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रको एजेण्डा सार्वजनिक गरेका छन् ।

सोमबार तीन राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने प्रतिवद्धता जाहेर गरेका हुन् ।

तीनै पार्टीले कृषि,रोजगारी र संरचनागत सुधार गरी अर्थतन्त्र बलियो बनाउने घोषणा गरेका छन् ।

नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको घोषणापत्रमार्फत् वित्तीय संघीयता पूर्णरुपमा कार्यान्वयन गरी सातै प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको आर्थिक एकाईको रुपमा विकास गर्ने घोषणा गरेको छ । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको मुख्य काम भनेको आर्थिक क्रान्ति भएको बताए ।

उनले नेपालको आर्थिक समृद्धि र विकासको निम्ति केन्द्रित हुने बताए । प्रचण्डले अर्थ प्रणाली सामान्य तरिकाले परिर्वतन हुन सम्भव नभएको बताए ।

मुलुकको व्यापार घाटा कम गर्न राष्ट्रिय व्यापार प्रतिष्ठान,रोजगार निर्माणका लागि राष्ट्रिय रोजगार प्राधिकरण,राष्ट्रिय गौरवका कायोजनाका पुँजीगत खर्च वृद्धि गर्न राष्ट्रिय विकास आयोजना प्राधिकरण गठन गर्ने उनले प्रतिवद्धता जनाए ।

सामूहिक उत्पादन प्रणाली विकास गर्ने,सार्वजनिक यातायातमा राज्यको भूमिका वृद्धि गर्ने, विकास निर्माणमा न्यायोचित वितरणमा जोड दिने प्रचण्डको भनाइ थियो ।

वैदेशिक सैन्य गठबन्धन नगर्ने,दुई अंकको आर्थिक वृद्धि गर्ने,कृषि र किसानलाई केन्द्रबिन्दुमा राख्ने,कृषि योग्य जमिन बाँझो राख्ने प्रणालीको अन्त्य गर्ने,सामुहिक कृषि प्रणालीमार्फत कृषि उत्पादन वृद्धि गर्ने प्रचण्डले प्रतिवद्धता व्यक्त गरे ।

उनले किसानलाई बाली लगाउनुभन्दा अगाडि मल उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले रासायनियक मलको प्रयोग कम गर्न जैविक र प्राङ्गारिक मल उत्पादन गरी जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्ने बताए ।

कृषि उत्पादनको उचित मूल्य तोक्ने र प्रत्येक प्रदेशमा दुईवटा औधोगिक केन्द्र स्थापना गर्ने माओवादीले घोषणापत्रमा उल्लेख गरिएको छ ।

हरेक पालिकामा एक औद्योगिक ग्राम निर्माण गर्ने,वैदेशिक रोजगारबाट फर्केका युवालाई रोजगारी र उद्योग खोल्न छुटको व्यवस्था गर्ने प्रतिवद्धता माओवादीले जनाएको छ ।

सरकारी कार्यालयहरुमा नेपाली उत्पादन अनिवार्य गर्ने माओवादीको घोषणापत्रमा उल्लेख गरिएको छ । १० लाख युवाहरुलाई रोजगारी दिइ २० लाख युवालाई स्वरोजगार बनाउने घोषणा प्रचण्डले गरे ।

माओवादीले घोषणापत्रमा पुँजीबजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणको कार्य शीघ्र सम्पन्न गरिने उल्लेख छ । त्यस्तै, गैरआवासीय नेपालीहरूलाई नेपालको पुँजीबजारमा लगानी खुला गर्ने कार्यलाई द्रुतताकासाथ अघि बढाइने उल्लेख गरेको छ ।

पुँजीबजारमा विदेशी संस्थागत लगानीलाई क्रमशः खुला गर्न आवश्यक कार्ययोजना तयार गरी लागू गरिने घोषणा गरेको छ । ‘समृद्ध किसान, देशको सान, आत्मनिर्भर कृषि, हाम्रो अभियान’ नाराका साथ कृषि क्षेत्रका विकासका योजना समेटिएको छ । कृषि वस्तुको आयात घटाउन र मुलुकको अर्थतन्त्रको आधार कृषिलाई बनाउन कृषि क्षेत्रको विकास अपरिहार्य भएको माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै १२ महिना (वर्षभर) नै कर तिर्ने करदातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन ल्याउन पहल गर्ने नेकपा एसका महासचिव डा.वेदुराम भुसालले घोषणापत्र सार्वजनिक गर्दै उल्लेख गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बिस्तार तथा स्तरोन्नति, निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, व्यवस्थित, सुविधासम्पन्न र सुरक्षित हुनेगरी बिस्तार तथा आधुनिकीकरण गर्न पहल गरिने नेकपा एसले घोषणापत्रमा उल्लेख गरेको छ ।

वाह्य र आन्तरिक पर्यटन र मागको प्रक्षेपणका आधारमा नेपाल वायुसेवा निगमका विमानको संख्या बढाइने एसको घोषणा छ ।
५० करोड लगानी गर्न सक्नेलाई विदेशी लगानीकर्ता परिचयपत्र उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

भुसालले मुलुकमा उत्पादनमूलक, रोजगारीमुलक उच्च प्रतिफलयुक्त क्षेत्रलाई विकास गर्न सरल ब्याजदरमा सार्वजनिक ऋण परिचालन गरिने उल्लेख गरे । उनले नेपालको पछौटेपन, आयात आधारित राजश्वको मुल स्रोत,डरलाग्दोरूपमा बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, कृषिबाट सक्रिय जनशक्ति नेपालमा नै स्वरोजगार बनाई मुलुकलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिने बताए ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी ५ वर्षमा रोजगारी र आय–आर्जनका अवसरहरु वृद्धि गरी उपभोग तथा वचत गर्ने र क्षमता वृद्धि गर्ने घोषणा गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी ५ वर्ष भित्र आर्थिक वृद्धि दर ८ प्रतिशत पुर्‍याउने प्रतिवद्धता सार्वजनिक गरे । उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई राज्यबाट सुविधा र संरक्षण प्रदान गर्ने, स्वदेशी उत्पादनमा कर घटाइने र सुविधा बढाइने, कच्चा पदार्थ आयात नगरी नहुने अवस्थामा मात्रै आयात भन्सार दर र अन्तःशुल्क कम गरी स्वदेशी उद्योगहरुको उत्पादन क्षमता बढाइने घोषणा गरे ।

प्रत्यक्ष वैदेशिक लगानीकर्तालाई लगानीमैत्री वातावरणमा विश्वस्त तुल्याउन लगानीमैत्री कानूनहरुको निर्माण गर्ने, सार्वजनिक खर्च प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाइ थप मितव्ययी र पारदर्शी बनाउने योजना ल्याउने राप्रपाको घोषणापत्रमा उल्लेख गरिएको छ ।

करको संरचना र दरमा सुधार गरी कर प्रणालीलाई थप सरल, वैज्ञानिक र समन्यायिक बनाइने उल्लेख उनले उल्लेख गरे ।

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई राज्यबाट सुविधा र संरक्षण प्रदान गर्ने, स्वदेशी उत्पादनमा कर घटाइने र सुविधा बढाईने, कच्चा पदार्थ आयात नगरी नहुने अवस्थामा मात्रै आयात भन्सार दर र अन्तःशुल्क कम गरी स्वदेशी उद्योगहरुको उत्पादन क्षमता बढाउने राप्रपाको घोषणापत्रमा उल्लेख गरिएको छ ।

पुँजी बजारमा साना, स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाइने, विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्न प्रोत्साहित गरिने राप्रपाले जनाएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन केन्द्रित गरी राजनीतिक दलहरुले आफ्नो पाँच वर्षे घोषणापत्र सार्वनिक गर्ने क्रम जारी रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ००:००  ५ : १३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping