
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् ।
प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनका निजी सचिव मोहन गौतमले जानकारी दिए । अध्यक्ष नेपालको अनुपस्थितिमा अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले सम्हाल्ने छन् ।
हिजो सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गर्ने र निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्षरूपमा संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको थियो । तत्कालीन समायमा सरकारको नेतृत्व गरेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईले मन्त्रिपरिषद्को बैठकबाट उक्त जग्गासम्बन्धी विषयमा निर्णय गराएका थिए ।
सर्वोच्चको आदेश आएको भोलिपल्ट विदेश उड्नु अघि अध्यक्ष नेपालको सचिवालयले हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा अध्यक्ष नेपाल जानकार रहेको जनाएको छ ।
सबै प्रकारका भ्रष्टाचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ भन्ने कुरामा उनको दृढ मान्यता रहेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।
SHARE YOUR THOUGHTS