ब्याजदर घटाउनका लागि दबाब दिन गभर्नर भेट्दै व्यवसायी « Eglish Khabarhub

ब्याजदर घटाउनका लागि दबाब दिन गभर्नर भेट्दै व्यवसायी



काठमाडौं । बैंकको ब्याजदर घटाउन आन्दोलनमै उत्रिएका व्यवसायीहरुले बैंकहरुले ब्याजदर नघटाएको भन्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाललाई भेटेर दबाब दिने भएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दै बैंकको ब्याजदर घटाउने नीति लिएको थियो ।

तर, बैंकहहरुले त्यसको कार्यान्वयन नगरेको भन्दै व्यवसायीहरुले गभर्नरलाई भेटेर कार्यान्वयन गर्न दबाब दिन लागेका हुन् ।

‘मौद्रिक नीतिको मध्यावधि समीक्षाले हाम्रा केही मागहरु पूरा गरेको छ, तर बैंकहरुले त्यसको कार्यान्वयन गर्न आनाकानी गर्दै आएका छन्,’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले क्लिकमाण्डूसँग भने, ‘त्यसैले अब गभर्नरलाई भेटेर ती ब्यवस्था कार्यान्वयनका लागि दबाब दिन्छौं ।’

आफूले केहीदिन यता गभर्नरलाई भेट्न खोजिरहेको तर गभर्नरसाब उपत्यका बाहिर भएकाले समय नमिलेको उनले जानकारी दिए ।

‘केहीदिन देखि हामीले गभर्नरको समय लिन खोजिरहेका छौं, उहाँले भ्याली बाहिर भएको र केहीदिन पछि मात्रै भट्न सक्ने बताउनुभएको छ,’ प्रधानले भने ।

बैंक ‘डिफल्टर’को दबाबमा ब्याजदर घटाउन महासंघको आन्दोलन, यस्तो छ आन्तरिक राजनीति

ब्याजदरका विषयमा व्यवसायीका माग सम्बोधन गर्ने निकाय राष्ट्र बैंक भएकाले अब राष्ट्र बैंकमार्फत नै आफ्ना मागहरु पूरा गराउने उनले जानकारी दिए ।

‘हामी हाम्रा माग लिएर पहिला राष्ट्र बैंक जान्छौं, राष्ट्र बैंकले सुनेन भने मात्रै अर्थ मन्त्रालय र प्रधानमन्त्रीकहाँ जान्छौं,’ प्रधानले थपे ।

यसअघि व्यवसायीहरु राष्ट्र बैंकलाई बाइपास गरेर सीधै प्रधानमन्त्रीकहाँ पुगेका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि अर्थमन्त्रीले सरोकारवालाहरुको बैठक राखेर व्यवसायीहरु पहिला राष्ट्र बैंक, त्यसपछि अर्थ मन्त्रालय र त्यसपछि मात्रै प्रधामन्त्रीकहाँ जानुपर्नेमा पहिला प्रधानमन्त्रीकहाँ गएर उल्टो बाटो हिँडेको बताएका थिए ।

उता बैंकर्स संघले व्यवसायीको दबाबमा परेर राष्ट्र बैंकको मौद्रिक नीतिको मध्यावधि समीक्षामा भएका व्यवस्था हुबहु कार्यान्वयन गर्ने हो भने बैंकिङ क्षेत्र धारासायी हुने भन्दै पुनरबिचार गर्न राष्ट्र बैंकलाई आग्रह गरिसकेको छ ।

बैंकका सीइओ र अध्यक्षहरुको संयुक्त बैठकले पनि बैंकिङ क्षेत्रमाथि नियोजितरुपमा आक्रमण भएको भन्दै आफूहरुको तर्फबाट पनि लबिङ तीब्र पार्ने निष्कर्श निकालेको छ ।

यतिबेला राष्ट्र बैंक नेतृत्व समक्ष व्यवसायी र बैंकका लगानीकर्ताहरुले आआफ्नो लबिङलाई तीब्र पारेका छन् ।

Publish on: