आर्थिक वर्षको पहिलो महिनामै बैंकलाई तरलता सकसः निक्षेप २३ अर्बले घट्यो, कर्जा ९ अर्बले बढ्यो « Eglish Khabarhub

आर्थिक वर्षको पहिलो महिनामै बैंकलाई तरलता सकसः निक्षेप २३ अर्बले घट्यो, कर्जा ९ अर्बले बढ्यो



काठमाडौं । गत आर्थिक वर्षभरी नै तरलता अभावको समस्याबाट ग्रसित बैंकिङ क्षेत्रलाई नयाँ आर्थिक वर्षको सुरुवाती महिनामा पनि उही समस्याले गाँजेको छ ।

साउन महिनामा बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले घटेको छ तर कर्जा भने ९ अर्ब रुपैयाँले बढेको छ । यसले बैंकिङ क्षेत्रलाई मात्रै होइन, ऋण लिएर केही गर्छु भन्नेहरु पनि प्रभावित हुनेछन् ।

राष्ट्र बैंकले स्प्रेड र बफर क्यापिटलमा कडाइ गरेको अवस्थामा व्यवसायको आकार बढाउन नसक्ने हो भने बैंकको नाफा घट्न गई बैंकिङ क्षेत्रका लगानीकर्ताहरुमा निराशा पैदा हुने ती बैंकरको चिन्ता छ ।

राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार गत असार मसान्तमा बैंकहरुले २८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

तर, भदौ १ गतेसम्म बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले घटेर २८ खर्ब ५५ अर्ब रुपैयाँमा झरेको छ भने कर्जा ९ अर्ब रुपैयाँले बढेर २५ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।

साउन लागेपछि प्रत्येक हप्ता बैंकको निक्षेप घटिरहेको छ । राष्ट्र बैंकका अनुसार असार अन्तिममा २८ खर्ब ७८ अर्ब रहेको निक्षेप साउन ३ गते घटेर २८ खर्ब ६५ अर्ब रुपैयाँमा झरेको थियो । त्यसगरी, साउन १० गते २८ खर्ब ६२ अर्ब, साउन १७ गते २८ खर्ब ५९ अर्ब, साउन २४ गते २८ खर्ब ५८ अर्ब र भदौ १ गते २८ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप छ ।

त्यस्तै, असार अन्तिममा २४ खर्ब ९८ अर्ब रुपैयाँ रहेको कर्जा साउन ३ गते २४ खर्ब ८५ अर्ब, साउन १० गते २४ खर्ब ८२ अर्ब, साउन १७ गते २४ खर्ब ८८ अर्ब, साउन २४ गते २४ खर्ब ९९ अर्ब र भदौ १ गते २५ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वर्षको सुरुवाती महिनामै निक्षेप घटेपछि र कर्जा बढेपछि बैंकरहरु तनाब लिन थालेका छन् ।

‘गत वर्षबाहेक वितेका वर्षहरुमा आर्थिक वर्षको पहिलो महिनामा लगानी योग्य पुँजी (तरलता) फालाफाल हुन्थ्यो,’ एक बैंकरले क्लिकमाण्डूसँग भने, ‘यो वर्ष सुरुवाती महिनामै निक्षेप घटेको छ भने कर्जा बढेको छ । यसले वर्षभरीको अवस्था संकेत गर्छ ।’

राष्ट्र बैंकले स्प्रेड र बफर क्यापिटलमा कडाइ गरेको अवस्थामा व्यवसायको आकार बढाउन नसक्ने हो भने बैंकको नाफा घट्न गई बैंकिङ क्षेत्रका लगानीकर्ताहरुमा निराशा पैदा हुने ती बैंकरको चिन्ता छ ।

‘नियामकले पेलेको पेलै छ, बजारमा पैसा छैन,’ उनले भने, ‘चौतर्फी चेपुवामा बैंकहरु परेका छन् ।’

गत आर्थिक वर्षमा पनि कर्जा र निक्षेपबीचको असन्तुलन थियो । एक वर्षमा ४ खर्ब ८ अर्ब रुपैयाँले निक्षेप बढेको थियो भने ३ खर्ब ८७ अर्ब रुपैयाँले कर्जा बढेको थियो । वर्षभरीमा निक्षेपभन्दा २१ अर्ब रुपैयाँले मात्रै बढी निक्षेप संकलन भएको थियो ।

बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव भएपनि बैंकहरुले निक्षेप आकर्षित गर्न ब्याजदर बढाएका थिए । ब्याजदर बढाउने प्रतिस्पर्धाले अर्थतन्त्र नै धरापमा पर्ने भन्दै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पटक पटक ब्याजदरमा भद्र सहमति गरेको थियो ।

यो आर्थिक वर्षको सुरुमा तरलता छ्यालब्याल हुन्छ र भद्र सहमति तोडौला भनेर बसेको बैंकर्स संघ आर्थिक वर्षको पहिलो महिनाको हवस्था देखेर हच्किएको छ ।

‘असारमा राम्रै तरलता थियो, त्यसैले ब्याजदरलाई सँधै नियन्त्रण गरेर राख्नु हुँदैन भनेर साउन अन्तिमतिर भद्र सहमति तोडेर अघि बढ्नुपर्छ भन्ने विषयमा बैंकरहरुबीच सहमति भइसकेको थियो, तर बजारको अवस्थाले दिएन,’ बैंकर्स संघका एक अधिकारीले भने ।

Publish on: