एटीएम ह्याकिङ प्रकरणमा अध्ययन समितिको सुझाव: पैसा भुक्तानीको लिमिट घटाउनुहोस « Eglish Khabarhub

एटीएम ह्याकिङ प्रकरणमा अध्ययन समितिको सुझाव: पैसा भुक्तानीको लिमिट घटाउनुहोस




काठमाडौं । चिनियाँ ह्याकरहरुले एटीएमबाट करोडौं रुपैयाँ ठगी गरेको विषयमा राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले आज प्रतिवेदन बुझाएको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले एटीएमहरु असुरक्षित बन्दै गएको उल्लेख गर्दै बैंकहरुलाई अत्याधुनिक सुरक्षाका उपायहरु अबलम्बन गर्नका लागि सुझाव दिएको छ ।

साथै तत्काल एटीएममा अहिले तोकिएको रकमको सीमा कम गर्न समेत सुझाव दिएको छ । अहिले एक पटकमा २५ हजार रुपैयाँ र एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न पाइन्छ ।

उक्त रकमको सीमालाई कम गर्नका लागि प्रतिवेदनमा सुझाव दिइएको मिश्रले क्लिकमाण्डुलाई जानकारी दिए ।

त्यस्तै, बैंकहरुले प्रयोग गरिरहेको म्यागनेटिक स्ट्रिप कार्डलाई परिवर्तन गरी चिप कार्ड लागू गर्नका लागि सुझाव दिएको छ ।

पाँच सदस्यीय समितिमा राष्ट्र बैंकका आईटी प्रमुख शिवप्रसाद दुवाडी, अनुज दहाल, नेप्सका अध्यक्ष प्रवीण क्षेत्री र बैंकर संघका तर्फबाट रोशन रेग्मी थिए । समितिले डेढ दर्जन सुझाव दिएको छ ।

समितिले तत्काल गर्नुपर्ने, मध्यकालिन र दीर्घकालिन गरी सुझावहरु पेश गरेको छ । मिश्रका अनुसार ह्याकरहरुले नेपालका एटीएमबाट ठगी गरेको रकममध्ये धेरै रकम रिकभर भइसकेको छ ।

उनका अनुसार १ करोड ८९ लाख रुपैयामध्ये झण्डै डेढ करोड रुपैयाँ रिकभर भइसकेको छ ।

तर भारतबाट ठगी भएको रकम भने रिकभर गर्न नसकिएको उनको भनाइ छ । समितिले सुझावमा बढी प्रयोग हुने एटीएमहरुमा लगातार निगरानी राखिराख्नु पर्ने उल्लेख गरेका छन् ।

राष्ट्र बैंकले यसबारेमा विस्तृत अनुसन्धान गर्नका लागि सिंगापुरबाट प्राविधिक टोली समेत बोलाएको छ । आज रातिसम्म आइपुग्ने उक्त टोलीले अध्ययन गरी विस्तृत रिपोर्ट तयार पार्नेछ ।

मिश्रले भने, ‘अझै पनि हामी अनुसन्धान प्रक्रियामा छौं, आज रातिसम्ममा सिंगापुरबाट अध्ययन गर्न प्राविधिक टोली आइपुग्छ र अध्ययन गर्छ ।’

उनका अनुसार उक्त दिन सिस्टम ह्याक भएपछि जेन्युनरुपमा निकालिएको पैसा समेत सिस्टममा देखिएको छैन ।

मिश्रले ह्याकरहरुले सिस्टम ह्याक गरिसकेपछि सर्वसाधरणले पैसा निकालेको समेत सिस्टममा नदेखिएकाले यसबारेमा अहिले अध्ययन भइरहेको जानकारी दिए ।

उनले नेपालका बैंकर तथा प्रहरीको क्विक रेस्पोन्सले गर्दा ठूलो क्षति हुन नपाएको समेत बताए ।

Publish on: