१ लाख रुपैयाँसम्मको क्रेडिट कार्डको सूचना दिनु नपर्ने « Eglish Khabarhub

१ लाख रुपैयाँसम्मको क्रेडिट कार्डको सूचना दिनु नपर्ने



कठमाडौं । क्रेडिट कार्डमा राष्ट्र बैंकले सहुलियत प्रदान गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै १ लाख रुपैयाँसम्मको क्रेडिट कार्डको जानकारी कर्जा सूचना केन्द्रमा जानकारी गराउनु नपर्ने व्यवस्था गरेको छ ।

‘कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीकरण गर्न, पुनरसंरचना वा पुनरतालिकीकरण गर्नु अगावै ऋणी/ग्राहकको बारेमा केन्द्रबाट अनिवार्य रुपमा कर्जा सूचना लिनु पर्नेछ, यसरी कर्जा सूचना माग भएमा केन्द्रले बढीमा ३ कार्य दिनभित्रमा त्यस्तो सूचना दिनु पर्नेछ,’ राष्ट्र बैंकले मंगलबार जारी गरेको एकीकृत निर्देशिकामा भनिएको छ ‘तर सुनचाँदी, मुद्दति रसिद र सरकारी सुरक्षणपत्र धितो कर्जा र १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड कर्जामा भने यस्तो सूचना लिन अनिवार्य हुने छैन ।’

तर, क्रेडिट कार्डबाट सिर्जना भएको कर्जा (फोर्स्ड लोन) को हकमा कर्जा शीर्षकमा लेखांकन भएको ९० दिन नाघेमा क्रेडिट कार्डधारीलाई कालोसूचीमा राख्न सकिनेछ ।

पछिल्लो समय त्रेडिट कार्डका प्रयोगकर्ताहरु बढिरहेका छन् । क्रेडिट कार्डलाई राष्ट्र बैंकले प्रोत्साहन पनि गरिरहेको छ । त्रेडिट कार्ड वाणिज्य बैंकहरुले मात्रै जारी गर्दै आएका छन् ।

१ लाख २३ हजार क्रेडिट कार्ड

२०७५ असार मसान्तसम्ममा बैंकहरुले १ लाख २३ हजार क्रेडिट कार्ड जारी गरेको राष्ट्र बैंकले जनाएको छ । पछिल्ला ७ वर्षमा ६८ हजार क्रेडिट कार्डका प्रयोगकर्ता थपिएका छन् । २०६८ असार मसान्तमा जम्मा ५५ हजारको संख्यामा रहेका थिए ।

२०५० सालमा नविल बैंकले नेपालमा पहिलोपटक क्रेडिट कार्ड सुरु गर्यो । त्यसबेलासम्म बैंकिङ प्रणालीमा क्रेडिट कार्ड खासै प्रचलनमा थिएन । त्यसैले क्रेडिट कार्डको कारोबार राम्रोसँग हुने बैंकको विश्वास थियो ।

२०५० सालमै क्रेडिट कार्ड शुरु गरेको नविल बैंकले डेविट कार्ड भने ०५३ सालमा मात्रै शुरु गरेको थियो ।

तर, ०५२ सालमै हिमालयन बैंकले नेपालमै पहिलोपटक डेबिट कार्ड सुरु गरिसकेको थियो । नविल बैंकका अनुसार क्रेडिट कार्ड सुरु गरेको वर्ष झन्डै १००० जनाले यस्तो कार्ड लिएका थिए ।

के हो क्रेडिट कार्ड ?

बैंकले तपाईंलाई विश्वास गरेर कार्डमार्फत् खर्च गर्न दिएको ऋण नै क्रेडिट कार्ड हो । क्रेडिट कार्डमा आफ्नो बचत रकम हुनैपर्छ भन्ने छैन । बैंकले तपाईंलाई एउटा सीमासम्मको रकम खर्च गर्नका लागि अनुमति दिन्छ । यस्तो कार्डधारीले बैंकले तोकेको सीमासम्मको रकम खर्च गरेर वस्तु तथा सेवा खरिद गर्न सक्छ । त्यो रकम बैंकले तिरिदिने हो ।

बैंकहरूले तिर्न सक्ने क्षमतामा विश्वास जितेका ग्राहकलाई मात्रै क्रेडिट कार्ड दिन्छन् । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म बिनाब्याज रकम पाउँछ । तर, त्यो अवधि नाघेको अवस्थामा उपभोक्ताले ‘विलम्ब शुल्क’ र सामान्यभन्दा केही बढी दरले ब्याज तिर्नुपर्छ । यो कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि सकिन्छ । तर, केही शुल्क भने तिर्नुपर्छ ।

Publish on: