काठमाडौं । भक्तपुरका अनन्त नेपाल स्मार्ट चालक अनुमतिपत्र लिन ३ पटकसम्म यातायात व्यवस्था विभागको कार्यालय पुगिसके ।
भक्तपुरको जगातीबाट चालक अनुमतिपत्रका लागि परीक्षा पास गरेका नेपालले ३ पटकसम्म पनि कर्मचारीले विभागबाट बनेर नआएको जवाफ सुन्दा दिक्क मानेको बताए ।
कार्यालयले मास प्रिन्टर आइसकेको र अब छपाइमा ढिलाइ नहुने बरु समयमै पाइने भन्दै कर्मचारीले दिएको आश्वासनले दिक्क भएको भन्दै आक्रोश पोखे ।
यातायात व्यवस्था विभागले एकैसाथ ठूलो संख्यामा स्मार्ट लाइसेन्स छपाइ गर्ने र लामो समयदेखि उपभोक्ताले बेहोर्दै आएको समस्या समाधान गर्न भन्दै मास प्रिन्टर खरिद गरेको थियो ।
तर मास प्रिन्टर आइपुगेको डेढ महिनासम्म पनि छपाइ हुन नसक्दा त्यसको मार उपभोक्ताले भोग्दै आएका छन् ।
तर विभागले भने लामो समयदेखि समस्याका रुपमा रहेको स्मार्ट लाइसेन्स प्रिन्टिङको समस्या हट्ने दाबी गरेको छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले अबको केही दिनसम्म परीक्षण सकिएपछि छपाइ सुरु हुने जानकारी दिए ।
उनले भने, ‘उपकरणका धेरै भाग छुट्टिएर आउने हुँदा त्यसको जडान र प्रविधि जडानका लागि समय लागेको थियो, तर अब केही समयमै उपकरण जडान र परीक्षणको काम सकिएपछि छपाइ सुरु हुन्छ ।’
मास प्रिन्टरबाट छपाइ सुरु भएपछि यसअघि उपभोक्ताले बेहोर्दै आएको स्मार्ट लाइसेन्सको समस्या हट्नेछ । भने उपभोक्ताले छिटोभन्दा छिटो स्मार्ट लाइसेन्स पाउने विभागले दाबी गरेको छ ।
यसअघि अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको १ वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेका थिए । मास प्रिन्टरले प्रतिघण्टा ५०० देखि ६०० वटासम्म सवारी चालक अनुमतिपत्र छपाइ गर्छ ।
उनका अनुसार हालसम्म उपकरणमा ‘सफ्टवेयर’कै समस्याका कारण समयमै छपाइ गर्न सकिएको थिएन् । उनले परीक्षणका क्रममा कुनै पनि समस्या नआएको बताए ।
‘छपाइका क्रममा स्मार्ट कार्ड स्पष्ट आएको छ, पूर्णरूपमा चलाउन अब कुनै बाधा छैन’ उनले भने ।
विभागका अनुसार अहिले झण्डै साढे ७ लाख स्मार्ट लाइसेन्स छपाइ गर्न पाइपलाइनमा छन् । मास प्रिन्टर सञ्चालनमा आएसँगै ३ देखि ४ महिनामा छपाइ हुन बाँकी रहेका स्मार्ट लाइसेन्सको छपाइ भइसक्नेछ ।
विभागका महानिर्देशक हमालका अनुसार सुरुमा उपत्यकाका सवेग्राहीलाई आवेदन दिएकै दिन अनुमतिपत्र पाउने व्यवस्था मिलाइनेछ । उपत्यका बाहिरबाट विवरण आउन र छापिएपछि त्यहाँ पुग्न केही समय लाग्ने भएकाले ढिलाइ हुन सक्ने उनको भनाइ छ ।
चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै मास प्रिन्टर खरिदको प्रक्रिया अगाडि बढाएको थियो ।
उपकरणले चाँडो काम गर्ने भएकाले विभागले ठूलो संख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएकाले १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । जसमध्ये ४ लाख कार्ड छपाइ भएर आइसकेको छ । भने बाँकी ६ लाख कार्ड छपाइ भएर अझै आइसकेको छैन ।
विभागले गत वर्ष ग्लोवल खरिद प्रक्रियामार्फत् मद्रास प्रिन्टर प्रालिमार्फत् प्रिन्टर खरिद गर्न जिम्मा दिएको थियो ।
SHARE YOUR THOUGHTS