३० मंसिर २०८२, सोमबार

कसरी एकाएक सेयर बजारमा उछाल आयो ? यी हुन् खास कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतरबा एकैदिन सेयर बजार परिसूचक नेप्से ४२.६१ प्रतिशतले बढेको छ । प्रतिशतका हिसाबले हेर्दा यो साढे ३ प्रतिशतको वृद्धि हो । आइतबार नेप्सेमा १७९ कम्पनीका ३ लाख ८३ हजार कित्ता सेयर १ अर्ब ३३ करोड ५७ लाख रुपैयाँमा किनबेच भए ।

सेयर बजारका सबै उपसूचकहरु हरिया छन् । अर्थात् बढेका छन् । सबैभन्दा बढी जीबन बीमा कम्पनीहरुको उपसूचक ४०९ र निर्जीबन बीमा कम्पनीहरुको उपसूचक ३८४ अंकले बढेको छ ।

कसरी एकाएक सेयर बजारमा हरियाली छायो ? यो भने चासोको विषय बनेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारबारे नकरात्मक टिप्पणी गरेका कारण सेयर बजार घटेको भन्दै लगानीकर्ताहरु उनीप्रति असन्तुष्ट हुँदै आएका थिए ।

अहिले हरियाली छाउनुमा अर्थमन्त्रीको अभिव्यक्तिको हात छ त ? एक लगानीकर्ता भन्छन्, ‘शनिबार राससमा दिएको अन्तर्वार्तामा अर्थमन्त्रीले पुँजी बजारप्रति नकरात्मक अभिव्यक्ति दिएका छैनन्, यसैको प्रभाव पनि देखिएको हुनसक्छ ।’

सेयर बजारमा उछाल आउँदा पनि यी कम्पनीका लगानीकर्ताले घाटा खाए

कारण यतिमात्रै हो त ? अर्का लगानीकर्ता भन्छन्– होइन । पहिलो कुरा सेयर बजारले घट्ने चक्र पार गरेको हुनसक्छ । दोस्रो कुरा, धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको छ । नयाँ अध्यक्षलाई हामी लगानीकर्ताले आफ्ना गुनासा राख्न धेरै कम्फर्ट मानेका छौं । उहाँ हाम्रा कुरा सुनेर सेयर बजार सुधार गर्न लाग्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । त्यसको प्रभाव पनि देखिएको हो ।’

अर्थमन्त्रीले नकरात्मक नबोल्दैमा र धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आउँदैमा सेयर बजारमा यत्रो उत्साह आएको हो त ? एक ब्रोकर भन्छन्, ‘केही प्रभाव त परेको होला । तर, अचम्मको कुरा चाहीँ ३/४ वर्षअघि घाटा खाएर अनि नाफा कमाएर बाहिरिएका लगानीकर्ताहरुले धमाधम खरिद आदेश दिइरहेका छन् । उहाँहरु किन रि–इन्ट्री गनुभयो भन्ने बुझ्न सकिएन ।’

तर त्यो भन्दा महत्वपूर्ण कुरा अर्को रहेको ती ब्रोकरले सुनाए । त्यो हो बैंकिङ क्षेत्रमा पर्याप्त तरलता र सेयर धितो कर्जामा सहज ऋण ।

‘अहिले बैंकका कर्मचारीहरु नै ब्रोकर कार्यालय आएर सेयर धितो कर्जाको मार्केटिङ गरिरहेका छन्, पर्याप्त तरलता भएपछि ब्याजदर घट्ने निश्चित छ,’ ती ब्रोकरले सुनाए, ‘त्यसकारण लगानीकर्ताहरु उत्साहित भएका हुन सक्छन् ।’

अर्को कुरा ठूला खेलाडीहरु पहिले धेरै पेनिक नभएको, पैसा राखेर बसेको र अहिले बजारमा प्रवेस गरेको विश्लेषकहरु बताउँछन् ।

समग्र सेयर बजार र मुद्रा बजारको बारेमा संसदको अर्थ समितिले रामकुमारी झाँक्रीको संयोजकत्वमा गठन गरेको उपसमितिको प्रतिवेदनको अन्तिम तयारीले पनि बजारलाई केही प्रोत्साहन मिलेको उनीहरुको भनाइ छ ।

‘झाँक्रीजी उपसमितिको संयोजक भएर आउँदा धेरै डर लागेको थियो, तर, उहाँले सरोकारवालाहरुसँग ब्यापक छलफल गर्नुभयो, धेरै कुरा बुझ्नुुभयो । उहाँको प्रतिवेदन राम्रो आउने र बजार सुधार हुनेमा हामी आशाबादी छौं,’ एक लगानीकर्ताले सुनाए ।

बजार घट्नु र बढ्नुमा लगानीकर्ताको मनोवलले काम गर्ने उनको भनाइ छ ।

‘अहिले लगानीकर्ताहरुमा मनोवल केही बढेको देखिन्छ,’ ती लगानीकर्ताले सुनाए, ‘हेरौं कति दिन टिक्छ ?’