उदयपुर सिमेन्टको बिक्री बढ्यो, माघ र फागुन महिनामा साढे ४ लाख बोरा बिक्री « Eglish Khabarhub

उदयपुर सिमेन्टको बिक्री बढ्यो, माघ र फागुन महिनामा साढे ४ लाख बोरा बिक्री



काठमाडौं । उदयरपुर सिमेन्टको बिक्री बढेको छ । उद्योगले चालु आवमा माघ र फागुनमा सबैभन्दा बढी बोरा सिमेन्ट बिक्री गर्न सफल भएको हो ।

२ वर्षदेखि रिक्त रहेको महाप्रबन्धकमा माघ १ गतेदेखि गोपिकृष्ण न्यौपाने नियुक्त भएपछि सिमेन्टको बिक्री बढेको हो ।

त्यसअघिसम्म कोइलाको अभाव झेलिरहेको उद्योगले नयाँ महाप्रबन्धक पाएसँगै कोइलाको प्रबन्ध गरी उत्पादन बढाएको थियो ।

उद्योगले माघ महिनामा २ लाख ११ हजार १३८ बोरा र फागुन महिनामा २ लाख ३८ हजार ३७१ बोरा बिक्री गरी यो यस आर्थिक बर्षको सबैभन्दा बढी बिक्री गर्न सफल भएको महाप्रबन्धक न्यौपानेले बताए ।

त्यसैगरी न्यौपाने महाप्रबन्धकमा रुपमा बहाली हुँदा ६५ करोड ८२ लाखको चालू दायित्व रहेकोमा उद्योगको आफ्नै स्रोत परिचालन गरी हालसम्म ३२ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिसकिएको छ ।

उद्योगले लक्ष्यको आधारमा कमिशन, बैंक ग्यारेण्टी सुबिधा, नगद छुट जस्ता स्किम सहितको नयाँ बिक्री नीति नै लागू गरेको कारण अहिले एक, दुई र बाग्मती प्रदेशमा विशेष फोकस गरी १०२ अधिकृत बिक्रेताहरु कायम गर्दै बजारमा बलियो उपस्थिति जनाएको छ ।

शुरुमा बन्द रहेको उद्योग सञ्चालन गर्न र पुरानो कारखाना भएकोले मर्मतसम्भारमा समय दिनुपरेकोले क्लिंकर उत्पादन लक्ष्य अनुसार हुन नसकेपनि बजारमा सिमेण्टको अभाव हुन नदिनेगरी सिमेण्ट प्लाण्ट चालू राखेको कारण गैंडाछाप सिमेण्टले बजारमा निरन्तरता पाएको उद्योगका प्रवक्ता रामबहादुर जिसीले बताए ।

लोडसेडिङको समयमा उद्योगको बिद्युत् लाइनबाट प्रभावित क्षेत्रमा जोडिएको लाइन लोडसेडिङको अन्त्य भएपछि पनि हटाउन नसक्दा उद्योगले लगभग मासिक ५ लाख नोक्सानी बेहोरिरहेकोमा अहिले उक्त समस्या समेत समाधान गरिएको छ ।

उद्योगबाट प्रदूषण कम गर्न इपीको मर्मतलगायत सरसफाइमा ध्यान दिइएको छ भने आन्तरिक लेखापरीक्षण अद्यावधिक गर्दै चार्टर्ड एकाउण्टेन्टको टीमबाट गत पौष मसान्तसम्मको आन्तरिक लेखापरीक्षण गराइएको छ ।

न्यौपानेले उद्योग परिसरमा यत्रतत्र रहेका कवाडी सामानहरुको कलेक्सन शुरु गरेका छन् भने जग्गा जमिनको यकिन गरी संरक्षण गर्न शुरु गरिएको छ ।

उद्योगले डेडिकेटेड फिडर बापत बढी भुक्तानी गरेको २२ करोड रुपैयाँभन्दा बढी रकम, बिद्युत प्राधिकरणलाई तिर्न बाँकी रकममा मिलान गर्न पहल भइरहेको छ ।

प्राबिधिकरुपमा किल्न लगायतका प्लाण्टको अवस्था परामर्शदाताबाट अध्ययन गराइ तत्काल मर्मत सम्भार शुरु गरिएको छ भने आगामी एक वर्षभित्रै करिब ७० करोड थप लगानी गरी १ मेगावाटको ब्याकअप सोलार प्लाण्ट सहित किल्न सेल फेर्ने, रिइन्फोर्समेण्ट सस्पेन्सन प्रेहिटर जडान गरि हालको दैनिक ८ सय मे. टन बाट क्षमता बढाइ ११ सय मेट्रिक टन पुर्याउने गरी कार्ययोजना उद्योगले बनाइरहेको छ । यसका लागि उद्योगले स्रोतका लागि सरकारसँग अनुरोध गरिसकिएको र सकारात्मक रुपमा अघि बढेको अवस्था उद्योगको भनाइ छ ।

महाप्रबन्धक न्यौपानेका अनुसार कारखानाको मेसिनहरुले साथ दिएा २ वर्षभित्रै उद्योग नाफामा जान सक्ने अवस्था देखिन्छ ।
उद्योगको ५ अर्ब ५० करोडको नोक्सानी कायम रहेको भए पनि ९५ प्रतिशत स्वदेशी कच्चापदार्थ चुनढुंगा प्रयोग गरी उत्पादन गरेको सिमेण्टबाट सरकारले करिब वार्षिक १ अर्ब बराबरको राजस्व संकलन गर्दै आएको छ भने ३४० कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Publish on: