दसैंमा टाटाले बेच्यो ७३५ वटा विद्युतीय गाडी, गत बर्षभन्दा दोब्बरले बढ्यो बिक्री « Eglish Khabarhub

दसैंमा टाटाले बेच्यो ७३५ वटा विद्युतीय गाडी, गत बर्षभन्दा दोब्बरले बढ्यो बिक्री



काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले यो दशैँमा ७३५ वटा विद्युतीय गाडी बिक्री गरेको छ । कम्पनीका अनुसार सेप्टेम्बर र अक्टोबर गरी दुई महिनामा ७३५ वटा गाडि बिक्री भएको हो ।

अघिल्लो बर्ष टाटाले सोही समयमा ३५४ वटा गाडी बिक्री गरेकोमा यस पटक दोब्बर संख्यामा विद्युतीय गाडी बिक्री गरेको हो। कम्पनीका सिओओ राजेशबाबु गिरीले यो दशैँमा निजी गाडीमा विद्युतीयमात्रै बिक्री गरिएको बताए ।

‘यो दशैंमा हामीले विद्युतीय गाडीमात्रै बेच्यौँ,’ गिरीले क्लिकमान्डुसँग भने ।

टाटाले दशैँलाई लक्षित गरेरै गत असोजमा टाटा एस इभी पिकअप भ्यान बजारमा ल्याएको थियो । यो सँगै टाटाले नेक्सन, टिगोर र टियागो गाडी बिक्री गरिरहेको छ। दशैँलाई भनेरै टाटाले विशेष अफर समेत सञ्चालन गरेको थियो ।

टाटा भारतले पछिल्लो ५ वर्षमा १ लाखभन्दा बढी विद्युतीय गाडी बिक्री गरेको छ ।

असोज महिनामा हालसम्मकै धेरै विद्युतीय गाडी आयात भएको तथ्यांकले दसैंमा इभीको राम्रो ब्यापार भएको प्रष्ट पार्छ । भन्सार विभागको तथ्यांकअनुसार असोजमा २ अर्ब ४३ करोड १६ लाख रुपैयाँ बराबरका १२ सय ३७ वटा विद्युतीय गाडी आयात भएका छन् ।

गत वर्षको सोही अवधिमा २ अर्ब रुपैयाँको ७०५ वटा मात्रै विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातित गाडीबाट सरकारले १ अर्ब ११ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै, नेपालले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँको २ हजार १३५ वटा विद्युतीय गाडी आयात गरेको छ । जुन सो अवधिमा आयात भएको संख्या हालसम्मकै उच्च हो । आयातित विद्युतीय गाडीबाट सरकारले २ अर्ब २४ करोड २१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

Publish on: