काठमाडौं । आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्डबाट पछिल्लो ५ वर्षमा क्लिकमान्डु डट कम ३ वटा पुरस्कारबाट सम्मानित भएको छ । आर्थिक समाचार सम्प्रेषण गर्ने अग्रणी अनलाइन मिडियाको पहिचान बनाएको क्लिकमान्डुमा कार्यरत ३ जना पत्रकार सेजन अवार्डबाट सम्मानित भएका हुन् ।
शनिबार सम्पन्न सेजनको २८औं वार्षिकोत्सवको अवसरमा क्लिकमान्डुका विशेष संवाददाता शरद ओझा १ लाख राशीको पुरस्कारसहित सम्मानित भए । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पुरस्कारका साथै सम्मानपत्र प्रदान गरे । ओझाको २०८१ जेठ २१ गते ‘राज्यलाई अर्बौं नोक्सान पुर्याउने गरी अर्थमन्त्री पुनले कसको स्वार्थमा गरे दफा ५७ मा छेडखानी ?‘ शीर्षकको समाचार प्रकाशति भएको थियो । यसको नियमित फलोअप भएको थियो । सेजन अवार्डका लागि परेका आवेदनबाट उनको समाचारलाई उत्कृष्ट ठहर्याएर पुरस्कार प्रदान गरिएको हो ।
क्लिकमान्डुको नियमित फलोअपपछि ठूला कम्पनीले कर छल्न सक्ने र राज्यलाई अर्बौं नोक्सानी हुने आर्थिक विधेयकमा गरिएको उक्त व्यवस्था संशोधन भएको थियो । संसदमा भएको दफावार छलफलमा सांसदले उठाएको विषय समेट्दै आर्थिक विधेयकको प्रस्तावित व्यवस्था संशोधन गरेको यो पहिलो घटना हो । यसअघि आर्थिक विधेयकमा केही पनि संशोधन नहुने अभ्यास भएकाले अर्थमन्त्री तथा कर्मचारीतन्त्रले स्वार्थ समूहबाट लाभ लिँदै राष्ट्रलाई हानी हुने गरी आर्थिक विधेयकमा स्वार्थअनुकुलका व्यवस्था राख्थे र आलोचना भइहाल्यो भने टाइपोइरर भनेर पन्छिँदै आउने गरेका थिए । यससँगै अर्थम्नत्रीले बजेट बनाउँदा त्रुटी भए संसदले संशोधन गरेर सच्याउने नयाँ अभ्यासको सुरुवात भएको छ ।
त्यसैगरी, सेजनको २७औं वार्षिकोत्षवमा क्लिकमान्डुकर्मी राजेश बर्माले पनि अनलाइन मिडियातर्फको सेजन अवार्ड पाएका थिए ।
बर्माको २० ८० भदौ १० गते क्लिकमान्डुमा प्रकाशित ‘बौद्धिक बिचौलिया मालामाल: परामर्श सेवामै अर्बौं घोटाला‘ शीर्षकको समाचारलाई पुरस्कृत गरिएको थियो । उनलाई तत्कालीन कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले पुरस्कारका साथै सम्मानपत्र प्रदान गरेका थिए ।
त्यसैगरी सोभित थपलियाको २०७७ असार ३० गते ‘नियामकको आँखा छल्दै साह परिवारले बेच्यो हिमालयन डिस्टिलरीको करोडौंको सेयर’ क्लिकमान्डुमा प्रकाशित भएको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थपलियालाई सम्ममापत्रका साथै पुरस्कार प्रदान गरेका थिए ।
क्लिकमान्डुमा सामाचार आएपछि नियामक निकाय धितोपत्र बोर्डले पहिलोपटक सेयर बजारमा हुने भित्रि कारोबारमा कारबाही गरेको थियो । धितोपत्र बोर्डले भित्रि कारोबार सम्बन्धी विनियमावली संशोधनको प्रक्रियामा छ । ऊर्जा व्यवसायीद्वय गुरु न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलगायतले पनि भित्रि कारोबार गरेको अभियोगमा कारबाही भोगिसकेका छन् ।
चाणक्य मिडियाद्वारा सञ्चालिक क्लिकमान्डु डटकम २०७३ साल कात्तिकदेखि सञ्चालनमा छ । आर्थिक विषयमा क्लिकमान्डुले निष्पक्ष, सशक्त र प्रभाविकारी समाचार सम्प्रेषण गर्दै आएको छ । यसअवधिमा क्लिकमान्डुले उठाएका धेरै विषयलाई नियामक निकायले कारबाहीको दायरामा ल्याउनुका साथै कानुनसमेत संशोधन भएको छ ।
प्रतिक्रिया