
काठमाडौं । नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय क्रिकेटर शिखर धवन सगरमाथा बेसक्याम्प पुगेका छन् । भारत जानुअघि उनी सगरमाथा बेसक्याम्प पुगेका हुन् ।
उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् ।
एभरेष्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार नै एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किए । कर्णाली याक्सबाट एनपीएल खेल्न आएका उनले नेपालमा रहँदा पशुपतिनाथ दर्शन गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् ।
कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । उनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार डलर पारिश्रमिक दिने गरी एनपीएलमा भित्राएको थियो । भारत फर्किएका उनले नेपालमा एनपीएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभव भयो । नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाँए,’ उनले भने ।




SHARE YOUR THOUGHTS