एनपीएल: कुन नेपाली खेलाडीले हात पार्लान् ओमोडा कार ? « Eglish Khabarhub

एनपीएल: कुन नेपाली खेलाडीले हात पार्लान् ओमोडा कार ?



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को नवौं दिनको खेलहरु सकिँदा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका थिए ।

क्यानले खेलाडीलाई दिने भनेको कारको विषयमा धेरैलाई चासो छ ।

प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले गाडी पाउने भनेपछि फ्यानहरुमा झनै चासो देखिएको हो । प्रतियोगिताभर उत्कष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमेडाले ओमोडा ई–५ कार पाउने छन् । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको व्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।

नेपाली खेलाडीले पाउने यो कारमा २६३० एमएमको ह्वीलवेसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स छ।

नेपाली बजारमा पछिल्लो समय ईभी कारको बजार बढिरहँदा नेपाली खेलाडीले पनि मजा चाख्न पाउने छन् । ओमोडाको ई–५ मा ६ वटा एयरव्याग हुँदा ३६० डिग्री क्यामेरा, ब्रेक एसिस्ट, हिल होल्ड एसिस्ट, लेन चेन्ज एसिस्ट, ट्राफिक जाम एभोइडेन्स, अटोनोमस इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर छन् ।

यसमा फास्ट चार्जर (८० किलोवाट चार्जर) मार्फत यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्ने कम्पनीको भनाइ छ । ११ किलोवाटले भने यो गाडी चार घण्टामा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । ओमोडामा १०० किलोमिटरमा १५.५ किलोवाट आवर पावर खपत हुनेछ ।

ई–५ मा टर्क ३४० एनएम रहेको छ भने टप स्पिड १७२ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा १८ इन्चको स्पोर्ट्स ह्विल छ भने १० वाट वाइन्ड रेसिस्टेन्स ह्विल रहेको छ । नेपाली बजारमा यसको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ कायम गरेको छ।

को–को छन् हालसम्मका दावेदार ?

कार पाउने खेलाडीको टुंगो लाग्न फाइनल खेलसम्म कुर्नु पर्ने छ । यद्दपी अहिलेसम्मका खेलमा नेपाली खेलाडीले गरिरहेको प्रदर्शनलाई आधार मान्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल छन् । उनले ब्याटिङ तथा बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । रोहितले हालसम्म प्रतियोगिताको ६ खेलमा २ अर्धशतकसहित २६९ रन बनाएका छन् । रोहितले बलिङतर्फ ७ विकेट लिएका छन् । तर रोहितले एक खेल मात्र खेल्न पाउनेछन् । उनको टोली लुम्बिनी लायन्स आज काठमाडौं गोर्खार्जसँग पराजित भएसँगै प्ले अफ होडबाट बाहिरिएको छ । लुम्बिनी उपाधि होडबाट बाहिरिँदा उनलाई असहज भएको हो ।

९ विकेट लिएका चितवन राइनोजका रिजन ढकाल, ९ विकेट लिएका जनकपुर बोल्ट्सका किशोर महतो र ८ विकेट लिएका ललितनारायण राजवंशी पनि कार उपहारका दावेदार हुन् । त्यस्तै सुदूरपश्चिमका दिपेन्द्र सिंह ऐरी पनि कार उपहारका दावेदार हुन् । उनले १ अर्धशतकसहित १४० रन बनाएका छन् । उनले ३ विकेट पनि लिएका छन् । त्यसो त खेलहरु अझै बाँकी रहेकाले अन्य खेलाडी पनि कारको दाबेदारी दौडमा अगाडि आउन सक्छन् ।

Publish on: