सेयर बजारमा जस्तै ‘रियल टाइम’मा प्राधिकरणले विद्युत् खरिद वा बिक्री गर्न सक्ने « Eglish Khabarhub

सेयर बजारमा जस्तै ‘रियल टाइम’मा प्राधिकरणले विद्युत् खरिद वा बिक्री गर्न सक्ने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २४ घण्टाका लागि पनि आफ्नो मूल्य तय गरेर विद्युत् भारत वा बंगलादेशलाई बिक्री गर्न पाउने भएको छ ।

यस्तै, आवश्यक परेको खण्डमा भारत वा बंगलादेशबाट विद्युत् आयात समेत गर्न पाउने भएको छ । यसअघि नेपालले वार्षिक वा दीर्घकालीन रुपमा विद्युत् खरिद सम्झौता गरेर विद्युत् आयात गरेको थियो ।

यसरी खरिद गरिएको विद्युत् तुलनात्मकरुपमा बढी मूल्य पर्दै आएको थियो । सरकारको पछिल्लो निर्णयले प्राधिकरणलाई आर्थिक रुपमा समेत थप फाइदा हुने देखिएको छ ।

विशेष गरी भारतमा १५ मिनेटका लागि समेत मूल्य तय गरेर विद्युत् खरिद–बिक्री भइरहेको छ । भारतमा विद्युत्लाई पनि अन्य सामग्री जस्तै माग र आपूर्तिका आधारमा खरिद बिक्री हुने गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार ‘डे अहेड’ मा विद्युत् खरिद गर्ने वा बिक्री गर्ने विषयलाई २४ घण्टाका लागि मूल्य निर्धारण गरी गोप्य शिलबन्दी वा अन्य कुनै विधि समेत अपनाउन पाउने व्यवस्था गरिएको छ ।

भारतमा विशेष गरी वर्षाको समयमा बढी विद्युत् माग हुने गरेको छ । हाल मनसुनी बर्षाका कारण नेपालमा कूल जडित क्षमता बराबर नै विद्युत् उत्पादन भइरहेको छ ।

प्राधिकरणले गत वर्षको साउनदेखि भदौको अन्तिम सातासम्म रक्सोल परानीपुर १३२ केभी प्रसारण लाइनमार्फत् कुलेखानी जलाशयको विद्युत् भारतलाई बिक्री गरेको थियो ।

कुलेखानीको ३ वटै आयोजना सञ्चालन हुने भएकाले यस वर्ष पनि मनसुनी वर्षा जारी रहेको खण्डमा १०६ मेगावाट विद्युत् भारत बिक्री गर्न सकिने अवस्था रहेको प्राधिकरणको भनाइ छ ।

सोमबारको निर्णयअनुसार वर्षाको समयमा बढी भएको विद्युत् छिमेकी देशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । नेपालमा उत्पादन भएको तर खपत हुन नसक्ने अतिरिक्त विद्युत् भारत, बंगलादेशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

प्राधिकरणको पछिल्लो विवरणअनुसारको हाल रातको समयमा झण्डै १५० मेगावाट बराबरको विद्युत् खेर जाने अवस्था छ । आगामी आवमा झण्डै ६ सय मेगावाट विद्युत खेर जान सक्ने भन्दै प्राधिकरणले चिन्ता व्यक्त गर्दै आएको छ ।

सरकारको पछिल्लो निर्णयपछि सेयर बजारमा सेयर खरिद गरे जस्तै वास्तविक समयमा नै विद्युत् खरिद वा बिक्री गर्ने मार्ग प्रशस्त भएको छ । त्यसका लागि भारतका विद्युत् खरिद वा बिक्रीकर्तासँग सहमति भने आवश्यक पर्दछ ।

नेपालमा आयत गरिने विद्युतको ठूलो हिस्सा भारतीय सरकारी कम्पनी एनभीभीएनमार्फत् खरिद गरिएको छ । सेयर बजारमा जस्तै सरल र सहज रुपमा वास्तविक समयमा खरिद वा बिक्री गर्न सकिने निर्णयले प्राधिकरणलाई बढी भएको विद्युत् भारत पठाउन वा ल्याउन समेत मार्ग प्रशस्त भएको छ ।

प्राधिकरणले यसअघि पनि बढी भएको विद्युत् भारतको उत्तर प्रदेश, बिहार जस्ता राज्यलाई समेत बिक्री गरिरहेको सन्दर्भमा सरकारको निर्णयले थप प्रष्ट पारेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रियल टाइममा विद्युत् खरिद वा बिक्रीको व्यवस्था गरिदिन सरकारसँग माग गर्दै आएका थिए ।

सरकारको पछिल्लो निर्णयले आफूहरुलाई थप सहज भएको प्राधिकरणको बुझाइ छ । सरकारको निर्णयपछि २४ घण्टादेखि एक महिना वा दुई महिनाका लागि निश्चित मूल्य तय गरेर प्राधिकरणलाई विद्युत् बिक्री गर्ने मार्ग प्रशस्त भएको छ ।

प्राधिकरणले हिउँदमा आयात गरिएको विद्युत् पहिल्यै तय गरिएको मूल्यका आधारमा ल्याइरहेको छ । सरकारको निर्णयले प्रतिष्पर्धाका आधारमा समेत विद्युत् खरिद वा बिक्री गर्न सकिने भएको छ ।

नेपाल र भारतबीच विद्युत् व्यापार सम्बन्धी सम्झौता भएको र सरकारको सोमबारको निर्णयले थप प्रष्ट समेत गरेकाले झनै सजिलो भएको प्राधिकरणको भनाइ छ ।

‘विद्युत् बढी भएको समयमा हाम्रो विद्युत्को मूल्य यति हो भन्न सकिने भएको छ’, प्राधिकरणका एक अधिकारीले भने, ‘हामीलाई आवश्यक परेको बेला हामी यति नै मूल्य तिर्छौ र यति परिमाणमा विद्युत् देऊ भन्न सकिने अवस्था सिर्जना भएको छ ।’

खपत हुन नसक्ने विद्युत् वा आन्तरिक उत्पादनम कमी आई अपुग हुने विद्युत् खरिदका लागि समेत मार्ग प्रशस्त गरिदिएको छ ।

छिमेकी मुलुक भारत र बंगलादेशतर्फ वा ती देशबाट बोलपत्र वा ‘डे अहेड’, ‘टर्म अहेड’लगायत अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरुपमा बिक्री वा खरिद गर्न सकिने अवस्था सिर्जना भएको छ ।

विद्युत् बिक्री वा खरिद गर्न स्वीकृति दिएको सरकारले प्राधिकरणलाई खरिद वा बिक्रीको सम्पूर्ण चरणको विद्युतीय अभिलेखसमेत राख्न अख्तियारी दिएको छ ।

विशेषगरी मनसुनको समयमा देशभित्र उत्पादित सबै विद्युत् खपत हुन नसक्दा विभिन्न प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्ने गरिएको छ ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नदीमा जलसतह बढेका कारण प्राधिकरणको आफ्नै स्वामित्वका आयोजना र निजी क्षेत्रका आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेका छन् ।

नेपालको कूल जडित क्षमता नै १ हजार ३५० मेगावाट बराबर रहेको छ । वर्षाका कारण एकाध आयोजनाबाट उत्पादित विद्युत् मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुन सकेको छैन ।

प्राधिकरणका अनुसार प्राधिकरण आफैंको ८ हजार ६४७ मेगावाट घण्टा, निजी उत्पादकको १० हजार ७३० मेगावाट घण्टा विद्युत् उत्पादन भइरहेको छ । यस्तै ३२१ मेगावाट घण्टा विद्युत् निर्यात भइरहेको छ भने १ हजार ८४९ घण्टा विद्युत् आयात भइरहेको छ ।

वर्षाका कारण ५३० मेगावाट घण्टा विद्युत् प्रवाहमा समस्या रहेको छ । देशभरको कूल माग भने २१ हजार ७५६ मेगावाट घण्टा छ ।

Publish on: