![](https://internal.appharu.com/wp-content/uploads/2023/02/bishnu-mahaprasad-adhakari.jpg)
काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रससाद अधिकारी र आफ्नो ट्युनिङ मिल्ने बताएका छन् । पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले राष्ट्रबैंकसँग ट्युनिङ मिल्ने सञ्चारमाध्यममा आउने समाचार सत्य भएको बताएका हुन् ।
‘राष्ट्र बैंकसँग ट्युनिङ मिल्छ भनेर मिडियाले भन्छन्, त्यो ठिकै हो,’ पौडेलले भने, ‘हाम्रो राम्रै ट्युनिङ मिल्छ, राम्रो काम गर्नेको मिल्छ त ।’
यसअघि पौडेल अर्थमन्त्री बनेका बेला पनि अधिकारी–पौडेलबीच राम्रो तालमेल देखिएको थियो । त्यसअघि माओवादीबाट अर्थमन्त्री बनेका जनार्दन शर्मासँग भने अधिकारीको तालमेल देखिएको थिएन ।
उनले बजारमा नेपाल राष्ट्र बैंकका गभर्नर र आफ्नो लाइन मिल्छ भन्ने गरिएको भन्दै भने, ‘फेरि राम्रो कामका लागि गभर्नर र अर्थमन्त्री मिल्नु पनि पर्छ, हामी मिलेर काम गर्छाैं ।’
उनले वित्त नीतिलाई सहयोग पुग्ने गरि मौद्रिक नीति आउने विश्वास गरे । मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा उनले भने, ‘अर्थमन्त्री र गभर्नरको बिचमा राम्रो समन्वय हुनेवित्तिकै बजारमा सकारात्मक सन्देश जानेछ । हामी मिलेर अघि बढ्दा बजारमा पनि मनोबल बढ्छ ।
पौडेल अर्थमन्त्री बनेलगत्तै राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गरेर केही लचिलो बनाएको थियो । अर्थमन्त्री पौडेल पनि गभर्नर अधिकारीको बेलाबेला बचाउ गर्दै आएका छन् । पौडेल मन्त्री नरहँदा पनि गर्भनरलाई हटाउने खोज्ने प्रयासको निन्दा गरेका थिए ।
केन्द्रीय बैंकका गभर्नर तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त भएका व्यक्ति हुन् ।
SHARE YOUR THOUGHTS