काठमाडौं । एक साताअघि बसेको नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकले पदाधिकारी बैठकले त्यसअघि गरेका सम्पूर्ण निर्णयको अनुमोदन गर्यो ।
पदाधिकारी बैठकले साउन २५ र २६ गते निर्वाचनको मिति तोक्नेदेखि आफ्नै संस्थाका पूर्वअध्यक्ष चण्डीराज ढकाल विरुद्ध खेद प्रस्ताव पारित गरेको थियो ।
पदाधिकारी बैठकले गरेका सम्पूर्ण निर्णय कार्यसमिति बैठकले अनुमोदन गरेसँगै बैधानिकरुपमा इतिहासमै पहिलोपटक आफ्नै पूर्वअध्यक्षविरुद्ध महासंघले खेद प्रस्ताव पारित गरेको छ ।
चण्डीराज ढकाल भन्छन्- भवानी राणाले आफ्नो हैसियत बिर्सिइन्, अब म चुप लागेर बस्दिन
जेठ तेस्रो साता बसेको पदाधिकारी बैठकले जिल्लानगरतर्फका उपाध्यक्ष किशोर प्रधानको प्रस्ताव र निवर्तमान अध्यक्ष पशुपति मुरारका र शेखर गोल्छाको समर्थनमा विशिष्ट सदस्यसमेत रहेका पूर्वअध्यक्ष चण्डीराजविरुद्ध खेद प्रस्ताव पारित गरेको थियो ।
‘पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले सार्वजनिक मिडियामा अध्यक्ष भवानी राणा र बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाप्रति लगाएको गंभीर आरोपबाट महासंघको छविमा पर्न गएको अमर्यादिन धारणाप्रति बैठकबाट दुःख तथा खेद व्यक्त गरियो,’ खेद प्रस्ताव पारित गरेका दिनको पदाधिकारी बैठककको माइन्यूटमा लेखिएको छ ।
हेर्नुहोस् पदाधिकारी बैठकको माइन्यूट
एक साताअघिको कार्यकारीणी बैठकको माइन्यूटमा यसअघि पदाधिकारी बैठकले गरेका सम्पूर्ण निर्णयहरु अनुमोदन गरिएको उल्लेख छ ।
‘कोरोना भाइरसको गंभीरतालाई दृष्टिगत गरी जुम भर्चुअल अनलाइनमा भएका सम्पूर्ण पदाधिकारी समिति बैठकका निर्णयलाई बैधानिकता प्रदान गर्ने अनुमोदन गरियो,’ कार्यकारीणी बैठकको माइन्यूट हो यो ।
योसँगै चण्डीविरुद्धको खेद प्रस्ताव पनि अनुमोदन भयो ।
हेर्नुहोस् कार्यसमिति बैठकले गरेको माइन्यूट
तर, चण्डीराज पक्षले भने भर्चुअल बैठकको वैधानिकता नहुने भन्दै विरोध जनाउँदै आएका छन् । चण्डीराज पक्षमा उपाध्यक्षद्धय चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ, कोषाध्यक्ष निरक केसी लगायत छन् । उनीहरुले खेद प्रस्ताव बैधानिक नभएको भन्दै चर्को आलोचनासमेत गर्दै आएका छन् ।
अध्यक्ष राणालाई गालीगलौज गरेको भन्दै महासंघद्धारा चण्डीराजविरुद्ध खेद प्रस्ताव पारित
‘बैठकको एजेण्डामै नरहेको विषय निर्णय भयो भनेर सुन्दा अचम्म लागेको छ,’ चण्डीराज पक्षका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने, ‘बैठकको बीचमा कुनै एक व्यक्तिले प्रस्ताव गर्ने अनि कुनै अर्को व्यक्तिले समर्थन गरेकै भरमा निर्णय भयो भन्नु हास्यास्पद छ ।’
चण्डीपक्ष भने आफू विरुद्धको खेद प्रस्ताव पारित भएको स्वीकार गर्न तयार छैन ।
‘यसअघिका पदाधिकारी बैठकमा खेद प्रस्ताव पारित गर्ने औपचारिक प्रस्ताव नै आएको छैन र पदाधिकारी बैठकले औपचारिकरुपमा निर्णय गरेकै छैन, यदि निर्णय गरेको रहेछ भने माइन्यूट मगाएर हेर्नुहोस्,’ चण्डीले क्लिकमाण्डूसँग भने, ‘मेरा विरुद्ध षड्यन्त्रपूर्ण प्रचारबाजी भएको मात्रै हो ।’
महासंघको गौरवपूर्ण इतिहासमा चण्डीराजजीमाथि लागेको यो कालो दाग अब कहिल्यै मेटिने छैन । खेदप्रस्ताव पारित भएसँगै महासंघको राजनीतिका प्रभावशाली खेलाडी मानिने चण्डीराजको नैतिक धरातल झनै कमजोर भएको छ ।
भवानी राणाले हैसियत बिर्सिएकै हुन्, करेक्सन नभए उनैलाई गाह्रो हुन्छः चण्डीराज ढकाल
चण्डीराज आगामी चुनावमा आफ्नो पक्षको बहुमत ल्याएर आफूविरुद्ध खेद प्रस्ताव पारित गर्न सक्रिय हुनेहरुविरुद्ध महासंघको शक्ति खन्याएर ‘पैंचो तिर्ने’ योजनामा छन् ।
‘हेर्नुहोस् अहिले मलाई महासंघबाट लखेट्ने हिसाबले सुनियोजित षड्यन्त्रका साथ खेद प्रस्तावको नाटक मञ्चन गरिएको छ,’ केही समयअघिको कुराकानीमा चण्डीले भनेका थिए, ‘मविरुद्ध षड्न्त्र गर्नेहरुले हेक्का राखुन्, आगामी चुनावमा मेरो पक्षको बहुमत आयो भने उनीहरुको हालत के हुन्छ ?’
महासंघको इतिहासमा पहिलोपटक आफ्नै पूर्वअध्यक्षविरुद्धको खेद प्रस्ताव पारित हुनु निकै दुःखद विषय भएको पदाधिकारीहरु बताउँछन् ।
‘चित्त बुझेको कुरा बैठकमा राख्न सकिन्थ्यो, आफूभित्र झैझगडा गर्न पनि सकिन्थ्यो,’ एक पदाधिकारीले भने, ‘चण्डीजीले अरुलाई मान्छे गन्नुहुन्न, अध्यक्षजस्तो गरिमामय पदमा आसिन व्यक्तिलाई सार्वजनिक सञ्चारमध्यमबाट गालीगलौज गर्दै हैसियत माथि प्रश्न उठाउने जस्ता हर्कत देखाउनुभयो । जसकारण सिंगो महासंघ उनको अभिव्यक्तिले लज्जित भयो । र, खेद प्रस्ताव पारित गर्न बाध्य भयो ।’
कार्यसमितिको भर्चुअल बैठक
लकडाउनकै बेला निर्वाचनको मिति तोक्नुपर्छ भन्दै चण्डीराज पक्षले अध्यक्ष भवानी राणालगायतलाई तीब्र दबाब दिँदै आएको थियो । राणा पक्षले भने लकडाउनका बेला निर्वाचनको मिति तोक्दा बाहिर नकरात्मक सन्देश जाने भन्दै लकडाउन सकिएको भोलिपल्टै मिति तोक्न आफूहरु तयार रहेको जवाफ दिएको थियो ।
आफूहरुले गरेको प्रस्ताव अस्वीकार गरेको भन्दै चण्डीराजले भवानी राणाविरुद्ध आक्रोश व्यक्त गरेका थिए । चण्डीराजले आफूले भवानीलाई अध्यक्ष बनाएको तर अहिले उनले हैसियत विर्सिएर आफूले भनेको नमानेको भन्दै तत्काल करेक्सन नभए उनका कर्तुतहरु भण्डाफोर गर्ने चेतावनी दिएका थिए ।
उनीविरुद्धको खेद प्रस्ताव पारित भइसक्यो । तर चण्डीराज भने खेद प्रस्ताव पारित नभएको तर्क गरिरहेका छन् । ‘चण्डी सामू अहिले यसको विकल्प पनि छैन, बिचार नगरी बोल्दा आएको अनपेक्षित परिणामले उनलाई ठूलो संकटमा पारेको छ,’ महासंघका एक कार्यसमिति सदस्यले भने ।
खेद प्रस्तावको विरुद्धमा चण्डीराज समुहले के के गर्यो ?
जब आफ्नो अभिव्यक्तिको विषयलाई लिएर महासंघ पदाधिकारी बैठकले खेद प्रस्ताव पारित गर्यो । तब चण्डीराज समुहले ऐजेण्डामा नभएको विषय भएकाले र भर्चुअल मिटिङ भएको यसको कुनै बैधनिकता नभएको प्रतिक्रिया दिए ।
महासंघका सयौं सदस्यहरु रहेको ह्वाट्स् एप ग्रुपमा उपाध्यक्षद्धय चन्द्र ढकाल, उमेशलाल श्रेष्ठले खुलेरै विरोध गरे ।
चण्डीविरुद्दको खेद प्रस्तावमा पारित भएकोमा चन्द्र ढकालसहित ३ पदाधिकारीकाे ध्यानाकर्षण
उनीहरुले लेखेका थिए, ‘पदाधिकारी बैठकको एजेन्डामा नै नरहेको उक्त विषयमा बैठकले सर्वसम्मतरुपमा खेद प्रस्ताव पारित गरेको भन्ने समाचारले महासंघको गरिमा र प्रतिष्ठामा आँच पुर्याउने र महासंघलाई नै झन कमजोर बनाएको महशुस भएको छ । यस्ता गम्भिर विषयहरुमा छलफल गर्दा पदाधिकारी, सचिवालय तथा कार्यसमितिको एजेण्डामा ल्याउनुपर्ने र सबैको सहमतीमा मात्र अगाडि बढाउनुपर्ने हुनाले बैठकमा प्रयाप्त छलफल गरेर मात्र अगाडि बढ्न आग्रह गर्दछौं । पूर्वअध्यक्ष चण्डीराज ढकालविरुद्धको खेद प्रस्ताव पारित भयो भनेर गरिएको प्रचारबाजीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’
त्यसपछि खेदप्रस्तावको विषयलाई लिएर महासंघका सदस्यहरुको रहेको ह्वाट्स् एप ग्रुपमा चर्को बहश शुरु भयो । केही प्रदेश अध्यक्ष र २ दर्जनबढी जिल्ला/नगरतर्फका अध्यक्षहरुले खेद प्रस्ताव आउनु आपत्तिजनक भएको भन्दै लेखे । जसले चण्डीराजलाई केही राहत महशुस भयो ।
त्यसपछि चण्डीराज पक्ष खेद प्रस्ताव उल्ट्याउने र भवानीपक्ष अनुमोदन गराएरै छाड्ने खेलमा लागे ।
दुबै पक्षले आफ्नो पक्षमा हस्ताक्षरसमेत संगलन गरे । ८० जनाको कार्यसमिति सदस्यलाई आफ्नो पक्षमा हस्ताक्षर गर्न दुबै पक्षले दबाब बढाए ।
अध्यक्ष भवानी राणा पक्ष अर्थात् खेद प्रस्तावको पक्षमा ४० जनाको हस्ताक्षर संकलन गर्न सफल भयो भने चण्डीराजको पक्षमा अर्थात् खेद प्रस्तावको विपक्षमा ३० जनाको मात्रै हस्ताक्षर संकलन गरे ।
भरत आचार्य, गोपाल खनाल, डीबी बस्नेत, अरुण सुमार्गीलगायतका १० जनाले कुनै पक्षमा पनि हस्ताक्षर गरेका थिएनन् ।
कार्यसमितिमा ५० प्रतिशतको हस्ताक्षर पुर्याउन नसकेपछि चण्डीराज पक्षले खेद प्रस्ताव पारित भएको विषय माइन्यूटमा नलेखी अघि बढ्नुपर्ने दबाब दियो ।
उमेशलाल श्रेष्ठ, चन्द्र ढकाल र निरक केसीलगायत खेद प्रस्ताव पारित भएको माइन्यूट नगर्न दबाब दिए । उनीहरुले विगतका कुरालाई विर्सिएर सहमतिका आधारमा अघि बढ्दा राम्रो हुने तर्कसहित यस्तो प्रस्ताव गरेका थिए ।
उनीहरुको प्रस्तावमा अर्को पक्षले मौखिकरुपमा कुनै प्रतिक्रिया जनाएन । पदाधिकारी बैठकले त्यसअघि गरेका सम्पूर्ण निर्णयहरुलाई बैधानिकता दिँदै चण्डीविरुद्धको खेद प्रस्ताव पनि अनुमोदन गरिदियो ।
‘अन्तिम अवस्थामा आएर अध्यक्षज्यूले खुट्टा कमाउनुहुन्छ कि भनेर डर लागेको थियो । तर अध्यक्ष भवानीजी साँच्चिकै माता भवानीको रुप धारण गरेर अघि बढ्नु भयो । र, पदाधिकारी बैठकले पारित गरेके खेद प्रस्तावको लिखित निर्णयलाई कार्यसमिति बैठकबाट अनुमोदन गराउनुभयो ।’ एक पदाधिकारीले भने ।
महासंघको चुनाव नजिकिँदै गएपछि गालीगलौज र आरोप प्रत्यारोप बढेको हो । महासंघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान छ ।
चन्द्रलाई चुनौति थपियो
एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल र जिल्लानगरतर्फका उपाध्यक्ष किशोर प्रधान बरिष्ठ उपाध्यक्षका लागि उम्मेद्धारी घोषणा गरिसकेका छन् ।
चन्द्र ढकाललाई चण्डीराज ढकालको साथ छ भने किशोर प्रधानलाई पशुपति मुरारका, शेखर गोल्छा लगायतको साथ छ ।
यसअघि चण्डीराज र चन्द्र ढकालको पक्षमा रहेकी अध्यक्ष राणाले खेद प्रस्ताव प्रकरणसँगै किशोर प्रधानलाई समर्थन गर्ने विश्लेषण गरिएको छ । लामो समयसम्म चण्डीराज गुटमा रहेकी राणाले यो पटक गुट फेर्दै पशुपति-शेखर गुटमा आएकी हुन् ।
‘आफ्नो कार्यकाल भर चण्डीले भनेको मानेकी तर अन्तिममा आएर अत्तिनै गरेपछि मान्न नसकेकी अध्यक्ष राणाको मन चण्डीको अभिव्यक्तिले नराम्रोसँग कुँडिएको छ,’अध्यक्ष राणा निकट स्रोतले भन्यो ।
भवानीले गुट परिवर्तन गर्दा आगामी निर्वाचनमा चण्डीराज पक्षलाई नराम्रो धक्का लाग्ने देखिएको छ ।
‘भवानीजीसँग त्यतिधेरै भोट त छैन तर उहाँको टिमसँग प्रवलजंग पाण्डेलगायत छन्, त्यो मत निर्णायक पनि हुनसक्छ,’ अर्का पदाधिकारीले विश्लेषण सुनाए, ‘बरिष्ठमा चन्द्रजीलाई चुनाव जित्न सोचेजति सजिलो छैन ।’
ती पदाधिकारीका अनुसार समाजमा राम्रो छवि नभएका चण्डीराजले चन्द्रलाई खुलेर समर्थन गर्दै हिँडेका छन् । चण्डीले समर्थन गर्दा जिल्ला नगरतर्फ चन्द्र ढकाललाई ठूलो फाइदा हुन्छ । तर वस्तुगत र एसोसिएटले चण्डीलाई राम्रो मान्दैन । त्यसको फाइदा किशोरजीले लिन सक्छन् ।
अर्कातिर चण्डीराजविरुद्ध महासंघका अधिकांश पूर्वअध्यक्ष एकजुट छन् ।
SHARE YOUR THOUGHTS