कर्मचारीले घुस खाएर गुठीको जग्गा तथा कमसल धितोमा शिवशिखरका विभिन्न कम्पनीलाई दिएको डेढ अर्ब रुपैयाँ ऋण सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेसँगै जोखिममा परेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/sbi-bank-and-pepar.png)
काठमाडौं । नेपाल एसबिआई बैंकले कर्जा लगानी गर्दा लिएको धितोको सुरक्षा गर्न नसक्दा डेढ अर्ब रुपैयाँ बराबरको कर्जा जोखिममा परेको छ । बैंकले शिखर अर्गनाइजेशन अन्तर्गतका विभिन्न ४ वटा संस्थामा १ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
शिवशिखर सहकारीको लगानीबाट सञ्चालनमा रहेको शिखर अर्गनाइजेसनका सम्पूर्ण कम्पनीहरू सहकारीमा समस्या आएपछि अहिले कालोसूचीमा रहेका छन् ।
एसबिआई बैंकले लगानी गरेको उक्त संस्थाबाट कर्जा असूल हुन नसक्दा गत जेठमै १ अर्ब ७६ करोड रुपैयाँ पुगिसकेको छ ।
शिखर अर्गनाइजेशनका अध्यक्ष केदारनाथ शर्मा हुन् । उनले शिवशिखर र तुलसी सहकारी संस्थाका निक्षेपकर्ताको रकम दुरुपयोग गरेर आफ्ना कम्पनीमा लगानी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रतिवेदनमा उल्लेख छ । शर्माले सर्वसाधरणको झण्डै १५ अर्ब रकम अपचलन गरेको कारण उनी अहिले डिल्लीबजार कारागारमा छन् ।
शर्माले सहकारीको पैसा ल्याएर उद्योग स्थापना गर्दै आएका थिए । उनले विभिन्न प्रकारका उद्योग स्थापनार्थ नेपाल एसबिआई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, तत्कालीन मेगा (नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) लगायत विभिन्न बैंकहरूमा उद्योग र यसका सम्पत्ति धितो राखेर करीब ५ अर्ब रुपैयाँ ऋण लिएका छन् । शर्माले ऋण लिएका बैंकहरूले उनको सम्पत्ति रोक्का गर्ने, धितोको सुरक्षा गर्नेसहितका कार्य गरिरहेका छन् ।
तर, नेपाल एसबिआई बैंकले भने आफूले लगानी गरेको संस्थामा राखिएको धितोको सुरक्षा गर्न सकेको छैन । यो बैंकका कर्मचारीकै मिलेमतोमा शिखर अर्गनाइजेशनले धितोमा राखेका कतिपय कम्पनी तथा उद्योगका मेसिनरी तथा उद्योग सञ्चालनमा आवश्यक सामान बिक्री भएको पाइएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/387272268_317325607614715_7894282190726406383_n.png)
नेपाल एसबिआई बैंकले शिखर अर्गनाइजेसन, शिखर स्पाइस एण्ड फूड इन्डस्ट्रिज, नटराज फूड इन्डस्ट्रिज र शिव शिखर खाद्य उद्योगमा १ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेको छ ।
यसले लगानी गरेका संस्थालाई प्रवाह गरेको ऋण असूल हुन नसकेपछि बैंकले २०८० जेठ १७ मा कर्जा चुक्ता गर्ने सम्बन्धी ३५ दिने सूचना जारी गरेको छ ।
उक्त सूचनाको अवधि सकिँदासम्म ऋणीले वास्ता गरेनन् । त्यसपछि बैंकले साउन ८ मा ३५ दिन समय दिएर अर्को सूचना जवारी गर्यो । समयमै कर्जा चुक्ता नभएर कालोसूचीमा राखेर धितो लिलामी गर्ने बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
बैंक भने सार्वजनिक सूचना जारी गरेर चुप लागेर बसेको छ । उसले धितोको सुरक्षा गर्न कुनै चासो दिएको छैन । जसका कारण बैंकको ऋण लिन प्रयोग भएको धितोलाई कर्मचारीले धमाधम बिक्री गर्न थालेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/387324269_696541845344251_7673766148424800186_n.png)
बैंकले धितोको सुरक्षण गर्न नसक्दा भक्तपुरको चागुनारायणमा रहेको उपकार पानी, शिवशिखर खाद्य उद्योग तथा सिफलको शिवशिखर एग्रो भने अहिले पनि निर्वाध रूपमै सञ्चलनमा छन् ।
शिखर अर्गनाइजेशन अन्तर्गतका सबै सम्पत्ति रोक्का र ऋण असूलीका लागि धितोको सुरक्षण गर्र्नुपर्ने अवस्थामा नेपाल एसबिआई बैंकको ऋणका लागि प्रयोग भएको तीनवटै उद्योगको सम्पत्तिको सुरक्षणमा कुनै चासो दिएको छैन ।
शिखर अर्गनाइजेशनले एसबिआई बैंकलाई अहिले सञ्चालनमा रहेका उद्योग र कम्पनीले ऋणको सावाँ व्याज तिरेका छैनन् । ती उद्योग र कम्पनी अहिले पनि शिखर अर्गनाइजेशनका अध्यक्ष शर्माले जेलभित्रै बसेर सञ्चालन निर्देशन दिइएको पाइएको छ । शर्माले नजिकका कर्मचारीमार्फत् सञ्चालन गरेर मनलाग्दी खर्च गर्न दिइएको पनि स्रोतले जानकारी दिएको छ ।
खाद्य उद्योगको हनि प्रोसेसिङ मेसिन कर्मचारीले बेचिदिए
सम्पत्ति लिलामिमा चढाउने सूचना जारी गरिसकेपछि बैंकले निर्वाधरूपमा कम्पनी चल्न दिँदा र धितोको समेत सुरक्षण गर्न नसक्दा भक्तपुरमा रहेको शिवशिखर खाद्य उद्योगको हनि प्रोसेसिङ मेसिन त्यस उद्योगका कर्मचारीले नै बिक्री गरेका छन् । कर्मचारीले उक्त मेसिनलाई १२ लाख रुपैयाँमा बिक्री गरेको उद्योगमा कार्यरत एक कर्मचारीले क्लिकमान्डुलाई बताए ।
कम्पनीका प्रबन्धक कुमार श्रेष्ठले मेसिन बिक्री गरेर त्यो पैसा आफूखुशी खर्च गरेको पाइएको छ । कर्मचारीलाई समयमै तलब समेत नदिने श्रेष्ठ शिवशिखर सहकारीको घटनमा फरार प्रतिवादी हुन् । प्रहरीले उनलाई पक्राउ पूर्जी जारी गरेको भएपनि श्रेष्ठ नियमित जसो उद्योगमा आइरहेको उक्त उद्योगका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार उद्योगबाट अहिले पनि ड्राइफुडहरू बिक्री भइरहेको छ ।
बैकले उद्योगमा कर्जा लगानी गर्दा त्याहाँ रहेका मेसिन औजार तथा स्टकको समेत लगत लिएर त्यसैको मूल्यांकन गरि कर्जा लगानी भएको हुन्छ । अन्य बैकहरूले आफूले लगानी गरेको कर्जाको साँवा ब्याज नतिरेका कारण शिखर अर्गनाइजेशनका विभिन्न कम्पनी सिल गरेका छन् । तर, एसबीआइ बैंकले न त कर्जा असूली गर्न तत्परता देखाएको छ न त आफूले कर्जा लगानी गरेको सम्पत्ति सुरक्षणका लागि चासो नै देखाएको पाइएको छ ।
एसबीआइ बैंकले शिखर अर्गनाइजेशनलाई ९० करोड रुपैयाँ ऋण प्रवाह गर्दा एसबिआई बैंकका कर्जा लगानी प्रबन्धक मनोज गौतमले एक प्रतिशतका दरले ९० लाख रुपैयाँ घुस लिएको संस्थाका अध्यक्ष केदारनाथ शर्माले प्रहरी समक्ष गरेको बयानमा उल्लेख छ ।
ऋण लगानी गर्दा घुस लिएको समाचार समेत सञ्चार माध्यामबाट सार्वजनिक भइसकेको छ । बैंकले यसमा संलग्न भनिएका कर्मचारीलाई अहिलेसम्म कारबाही गरेको छैन भने संस्थाका अध्यक्ष शर्माले लगाएको यो आरोपको खण्डन पनि गरेको छैन ।
सीआईबीले गरेको एक अनुसन्धानपछि अदालतमा दायर गरेको अभियोगपत्रमा गौतमले घुस लिएर कर्जा दिएको सर्वोच्च अदालतमा दायर गरेको अभियोगपत्रको पाना नम्बर ११५ मा उल्लेख छ । अहिले पनि उनै कर्मचारीसहितको मिलेमतोमा बैंकले धितोको सुरक्षा गर्न नसकेको आरोप लागिरहेको छ ।
एसबिआई बैंकका प्रबन्धक गौतमले भने बैंकका सबै गतिविधिका विषयमा सूचना अधिकारीसँग कुरा गर्न भन्दै पन्छिने गर्छन् । उनले यसअघि पनि घुस लिएर ऋण दिएको र अहिले पनि मिलेमतो गरेर धितोको सुरक्षा नगरेको भन्ने विषयमा आवश्यक जानकारी माग्दा सूचना अधिकारीलाई नै सोध्न र आफूलाई केही थाहा नभएको भन्दै फोन काटिदिए ।
बैंकका सूचना अधिकारी रितेश अर्यालले भने आफू यात्राका क्रममा नेपालगञ्जमा रहेकोले कुनै सूचना र जानकारी दिन सक्ने अवस्थामा नरहेको बताए । अर्यालले नेपालगन्जको यात्रा सकेर कार्यालयकै कामले भारत जानुपर्ने बताए । उनले फर्किएर आएपछि मात्रै कुरा गर्ने प्रतिकृया दिए ।
मूल्यांकन बढाउन गुठीको जग्गा धितोमा
एसबिआई बैंकले शिखर अर्गनाइजेशनको एउटा उद्योगमा ८७ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गर्दा मूल्यांकन बढाउन गुठीको जग्गालाईसमेत प्रयोग गरेको पाइएको छ। शिखर अर्गनाइजेशनका विभिन्न ७ ठाउँको सम्पत्तिले समेत उक्त ऋण दिन धितो नपुगेपछि पशुपतिनाथ अमालकोट कचहरी गुठीको जग्गा प्रयोग भएको हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/lalpurja.png)
केदारनाथ शर्माकी श्रीमती गिता शर्माको नाममा मोही कायम रहेको चावहिलको ६७३.६६ वर्गफिटको जग्गालाई धितोको रूपमा यो बैंकले स्वीकार गरेको थियो । काठमाडौं महानगरपालिका ७ सिफलमा रहेको यो जग्गा र यहाँ रहेको भवनलाई बैंकले धितो स्वीकार गर्दा चलनचल्तीको मूल्यभन्दा अधिक मूल्यांकन गरेको समेत पाइएको छ ।
गुठीको जग्गालाई बैंकिङ कारोबारमा प्रयोग गर्न नमिल्ने भएपनि एसबिआई बैंकले धितोको रूपमा यो जग्गा लिएको छ । अहिले यहाँ शिवशिखर एग्रोको कार्यालय सञ्चालनमा छ । बैंकले यो यो जग्गालाईसमेत लिलामीमा निकालेको भएपनि यसको सुरक्षणका लागि अहिलेसम्म बैंकले चासो दिएको छैन ।
धितो सुरक्षण नगर्ने बैंकका सीईओलाई नगद जरीवानासम्मको कारवाही हुने
नियमक निकाय नेपाल राष्ट्र बैकले कर्जा लगानीका लागि बैंकहरूले धितोमा लिने सम्पत्तिको सुरक्षण गर्ने दायित्व सम्बन्धित बैंककै हुने स्पष्ट व्यवस्था गरेको छ । राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेल बैंक तथा वित्तीय संस्थाको लागि जारी गरिएको एकीकृति निर्देशन २०७९ ले गरेको व्यवस्थाअनुसार दण्ड जरिवाना हुने बताए।
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/386459917_1259729764739716_7341654128865491620_n.png)
कर्जा नतिर्ने ऋणीलाई कालोसूचीमा राख्ने, लिलामीको सूचना निकाल्ने, सम्बन्धि धितोको सुरक्षा गर्ने जिम्मा कर्जा लगानी गर्ने बैंककै भएको पोखरेल बताउँछन् । यसका लागि केन्द्रीय बैैंकले गरेको व्यवस्था कडाइका साथ लागू हुने पनि उनको भनाइ छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/386442829_893238192220593_587231642897270274_n.png)
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार कालोसूचीमा परेको व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाहरूलाई प्रदान गरेको कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने छ । सम्बन्धित बैंकले धितोको सुरक्षण गर्न नसके राष्ट्र बैंक ऐन २०५८ अनुसार सम्बन्धित बैंकका कार्यकारी प्रमुखलाई ५ लाख रुपैयाँ जरिवाना गर्नेसहितको व्यवस्था छ ।
प्रतिक्रिया