टिकट ‘सोल्ड आउट’ हुँदा एकदिनमै ३५ लाख कमाउँछ क्यान « Eglish Khabarhub

एनपीएल क्रिकेट

टिकट ‘सोल्ड आउट’ हुँदा एकदिनमै ३५ लाख कमाउँछ क्यान



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई पटक खेलको टिकट सोल्ड आउट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइजी लिगको उद्घाटन खेल र गत २२ गते (शनिबार)को गरि दुई खेलका टिक सोल्ड आउट भए ।

प्रतियोगिता रोचक बन्दै गएको अवस्थामा क्यानले अझै टिकट सोल्ड आउट हुने अपेक्षा गरेको छ । कूल १२ हजार दर्शक क्षमता भएको त्रिवि क्रिकेट मैदानमा क्यानले ११ हजार टिकट खल्तीमार्फत बेच्ने गर्दछ ।

भीआईपीतर्फ ८०० र साधारणतर्फ १० हजार २०० टिकट बेच्ने गरेको छ । अन्य केही पास भने क्यानले टिमका लगानीकर्ता, स्पोन्सर, सिद्धार्थ बैंक र एनसेलका लागि राख्ने गरेको छ ।

भीआईपीतर्फको टिकट ५०० रुपैयाँको दरले बेच्ने गरेको छ । क्यानले भीआईपीर्फको ८०० टिकट बेच्दा ४ लाख रुपैयाँ आम्दानी गर्छ । त्यस्तै सधारणतर्फको १० हजार २०० टिकट बेच्दा ३० लाख ६० हजार आम्दानी गर्छ।

क्यानका प्रवक्ता छुम्बी लामाले पूरै टिकट बिक्रीको हिसाब अहिले नै गर्न नसकिने भए पनि खल्तिले हरेक दिन ११ हजार टिकट बिक्रीका लागि राख्ने बताए । त्यसै अनुसार क्यानले खल्तीलाई टिकट काट्न लगाएको पनि लामाको भनाइ छ ।

‘हामीले पूरै टिकट सोल्ड आउट हुने दिन कति आम्दानी हुन्छ भन्ने कुरा अहिले नै भन्न सक्दैनौं । तर, खल्तीले हरेक दिन ११ हजार टिकट बिक्रीका लागि राखेको हुन्छ । एकिन हिसाब आउन समय लाग्छ,’ लामाले क्लिकमान्डुसँगको कुराकानीमा भने ।

क्यानले हालसम्म गरेको आम्दानीको हिसाब भने अहिले नै भन्न नसकिने उनले बताए । सिद्धार्थ बैंक र एनसेलले दिएको रकम पनि जोडेर प्रतियोगिता सकिएको पछिल्लो दिन नै क्यानले सार्वजनिक गर्ने उनको भनाइ छ ।

तर, मुख्य दुई स्पोन्सरको रकम भने खुलाउन नमिल्ने उनी बताउँछन् ।

‘क्यानले प्रतियोगिता अन्तर्गत आजसम्मको खेलमा कति आम्दानी भएको छ भन्ने कुरा अहिले नै हिसाब दिन सकिने अवस्था छैन । हामी प्रतियोगिता सकिएको पछिल्लो दिन हिसाव सार्वजनिक गर्नेछौं । तर, दुई स्पोन्सरको रकम भने कहिले खुलाउन मिल्दैन,’ लामाले भने ।

क्यानले एनपीएलको टिमहरु बिक्री गरेर मात्र करिब १७ करोड आम्दानी गरिसकेको छ । क्यानले खुला बिडिङ गर्दै आठ फ्रेन्चाइजीबाट १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै ब्रान्ड डिजिटल लजिक प्रालिलाई एनपीएलको कमर्सियल राइट्सको अधिकार बेच्दा क्यानले झण्डै ६ करोड प्राप्त गरेको छ ।

एनपीएल नेपाल क्रिकेट एशोसिएसन क्यानले आयोजना गरेको हो । झण्डै १ अर्ब रुपैयाँको बजेट लाग्ने आकलन गरिएको प्रतियोगिताका विजेताले नेपाली खेल इतिहासमै सबैभन्दा ठूलो रकमको पुरस्कार राशी पाउने छन् । विजेताले १ करोड ११ लाख पाउने छन् । उपविजेताले ५५ लाख पाउँदा तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने छन् ।

क्यान आफैंले आयोजना गरेकाले त्यसको प्रत्यक्ष फाइदा भने उसलाई हुने छ र त्यो रकम क्रिकेटको विकासका लागि खर्च गरिने क्यान सचिव पारस खड्का बताउँछन् ।

आम्दानीको ५० प्रतिशत रकम भने क्यानले ८ वटा फ्रेञ्चाइज टोलीलाई बाँड्नेछ । टीम किन्नका लागि ८ फेन्चाइजले १ करोडदेखि साढे ३ करोड रुपैयाँसम्म खर्च गरेका छन् । ८ वटामध्ये सबैभन्दा सस्तोमा खरिद भएको टीम कर्णाली याक्स हो । जसले १ करोड ११ लाख लगानी गरेको छ भने महँगोमा किनिएको टीम पोखरा एभेन्जर्स हो । जसलाई किन्न ३ करोड ५७ लाख रुपैयाँ खर्च भएको थियो ।

Publish on: